
काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी भएका आर्थिक अपराधका फरार अभियुक्त तुलसी अधिकारी पक्राउ परेका छन्।
प्रहरीका अनुसार रेड नोटिस जारी भएपछि अधिकारीलाई भारतको नयाँ दिल्लीमा पक्राउ गरिएको हो। पक्राउ परेका अधिकारीलाई नेपाल ल्याएर हाल ललितपुर प्रहरीको हिरासतमा राखिएको छ।
अधिकारीविरुद्ध ६ करोड ७५ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दायर गरिएको थियो। उक्त मुद्दा ललितपुर जिल्ला अदालतमा विचाराधीन रहेको छ।
जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले करिब चार महिनाअघि नै अधिकारीविरुद्ध ठगी तथा आर्थिक अपराध सम्बन्धी मुद्दा दायर गरेको थियो। उनीमाथि आर्थिक लाभ, ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।



