रोड टु युएफसीमा नेपाली फाइटर रविन्द्र ढाँटको ऐतिहासिक जित

काठमाडौँ- नेपाली फाइटर रविन्द्र ढाँटले विश्व प्रतिष्ठित ‘रोड टु युएफसी’ प्रतियोगितामा ऐतिहासिक जित हासिल गर्नुभएको छ। फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै उहाँ युएफसी छनोट प्रतियोगितामा विजयी हुने पहिलो नेपाली फाइटर बन्नुभएको हो।
प्रतिस्पर्धाको पहिलो राउन्डमा केही दबाबमा देखिए पनि ढाँटले आक्रामक शैलीमा उत्कृष्ट पुनरागमन गर्नुभयो। दोस्रो राउन्डमा उहाँले ‘क्लिन्च’ को प्रभावकारी प्रयोग गर्दै प्रतिद्वन्द्वीलाई भुइँमा ढाल्नुभयो र लगातार मुक्का प्रहार गर्दै ‘नकआउट’ जित दर्ता गर्न सफल हुनुभयो।
नेपालको बझाङ घर भएका ढाँटले अब युएफसी सम्झौता पक्का गर्न थप दुई खेल जित्नुपर्नेछ। उहाँ ‘रोड टु युएफसी सिजन ५’ अन्तर्गत ब्यान्टमवेट विधाको ८ खेलाडी सहभागी ‘सिङ्गल–एलिमिनेसन’ प्रतियोगितामा प्रतिस्पर्धा गरिरहनुभएको छ।
‘रोड टु युएफसी’ मा सहभागी हुनुअघि व्यावसायिक एमएमएमा ढाँटको नाममा ९ जित र १ हारको कीर्तिमान रहेको थियो।



