बैदेशिक रोजगारविशेष खबरसमाचार

इजरायलमा नेपाली कामदारका लागि २३०० रोजगारी खुला, असार ७ सम्म आवेदन दिन सकिने

काठमाडौं – इजरायलले नेपाली कामदारका लागि दुई हजार तीन सय पदमा आवेदन आह्वान गरेको छ । नेपाल–इजरायल श्रम सम्झौताअनुसार दीर्घकालीन स्याहार केन्द्र (Long-Term Care Center) मा सहायक कामदारका रूपमा नेपाली लैजाने प्रक्रिया सुरु गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका अनुसार कुल २३०० पदमध्ये १३८० महिला र ९२० पुरुष छनोट गरिनेछ । आवेदन दिने उम्मेदवारको उमेर २५ देखि ४५ वर्षभित्र हुनुपर्नेछ ।

आवेदनकर्ताले कम्तीमा कक्षा १० उत्तीर्ण गरेको हुनुपर्नेछ भने एएनएम (ANM) वा सिएमए (CMA) अध्ययन गरेको अथवा केयरगिभिङ तालिम लिएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

चयन भएका कामदारले मासिक करिब ५,८८१ इजरायली मुद्रा (NIS) तलब पाउने विभागले जनाएको छ । साथै ओभरटाइम, बिदा तथा खानाको सुविधा पनि उपलब्ध गराइनेछ ।

इच्छुक नेपाली नागरिकले वैदेशिक रोजगार विभागको अनलाइन पोर्टलमार्फत २०८३ असार ७ गते दिउँसो १२ बजेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदनका लागि राहदानी, पासपोर्ट साइज फोटो, शैक्षिक प्रमाणपत्र, तालिम प्रमाणपत्र तथा चारित्रिक प्रमाणपत्र आवश्यक पर्ने विभागले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि इजरायल जान इच्छुक नेपालीहरूलाई आवश्यक कागजात समयमै तयारी गरी निर्धारित मितिभित्र आवेदन दिन विभागले आग्रह गरेको छ ।

912981-आवेदन आह्वान गरिएको सूचना

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button