प्रवासविशेष खबरसमाचार

मलेसियामा अन्तरराष्ट्रिय सगरमाथा दिवस भव्य रूपमा मनाइयो

काठमाडौँ, जेठ १७ — मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले सगरमाथा आरोहणको ऐतिहासिक ७३औँ वार्षिकोत्सव तथा अन्तरराष्ट्रिय सगरमाथा दिवस विविध कार्यक्रमका साथ मनाएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालको भिडियो सन्देशबाट सुरु भएको कार्यक्रममा राजदूतावासकी कार्यवाहक राजदूत मुदिता बज्राचार्यले नेपालमा पर्वतारोहण पर्यटनको महत्वबारे प्रकाश पार्दै हिमाली पारिस्थितिकीय प्रणाली, पर्वतीय समुदायको जीविकोपार्जन तथा संस्कृतिको संरक्षणप्रति नेपालको प्रतिबद्धता दोहोर्याउनुभएको थियो।

कार्यक्रममा सन् १९९७ मे २३ मा सगरमाथा आरोहण गर्ने मलेसियाका प्रारम्भिक आरोही डाटुक मोहानादास नागप्पनले आफ्नो अनुभव सुनाउँदै आठ हजार मिटरभन्दा माथिको आरोहणले जीवनप्रतिको आफ्नो दृष्टिकोण नै परिवर्तन गरेको बताउनुभयो।

त्यस्तै, सन् २०१४ मा चो–ओयु र सन् २०१६ मा सगरमाथा आरोहण गरेका अजीम अफिफ इशाकले हिमाली क्षेत्रमा शेर्पा समुदायलगायत स्थानीय बासिन्दाको योगदानबिना पर्वतारोहण सफल हुन नसक्ने उल्लेख गर्नुभयो।

महिला लक्षित साहसिक यात्रा तथा क्याम्पिङ प्रवर्द्धनमा सक्रिय फजलीन नाजरिनले आफ्ना अनुभव साझा गर्दै पर्वतारोहण र साहसिक गतिविधिमा महिला सहभागिता बढाउन सुरक्षित वातावरण आवश्यक रहेको बताउनुभयो।

सो अवसरमा कार्यवाहक राजदूत मुदिता बज्राचार्यले मलेसियाका पहिलो सगरमाथा आरोही डाटुक मगेन्द्रन मुनिसामी तथा डाटुक मोहानादास नागप्पनलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो।

कार्यक्रममा मलेसियाली पर्वतारोही, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, पर्यटन व्यवसायी, नेपालका मित्रहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको राजदूतावासले जनाएको छ।

अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले नेपाल–मलेसिया सम्बन्ध, पर्वतीय पर्यटन प्रवर्द्धन तथा सगरमाथाको विश्वव्यापी महत्वलाई थप उजागर गरेको सहभागीहरूले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button