अन्तराष्ट्रिय खबरप्रवासविशेष खबरसमाचारसंस्कृति

जर्मनीको ‘कार्निभल अफ कल्चर्स’ मा नेपाली संस्कृतिको भव्य प्रस्तुति

फोटो सौजन्यः सागर फुयाँल, कार्यवहाक राजदुत Nepal embassy Berlin

जर्मनीमा आयोजना भइरहेको चर्चित सडक महोत्सव ‘कार्निभल अफ कल्चर्स’ मा नेपाली समुदायले यस वर्ष पनि आकर्षक सांस्कृतिक प्रस्तुति दिएको छ। विश्वका विभिन्न देशका समुदाय सहभागी हुने उक्त महोत्सवमा नेपालले आफ्नो मौलिक कला, संस्कृति र परम्परालाई विशेष ढंगले प्रस्तुत गरेको हो।

“Heritage From Top of the World” भन्ने नारासहित सहभागी नेपाली टोलीले परम्परागत नेपाली भेषभूषा, सांस्कृतिक झाँकी तथा लोकनृत्यमार्फत नेपालको पहिचान अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने प्रयास गरेको जनाएको छ। कार्यक्रममा नेपाली झण्डासहित प्रस्तुत गरिएका सांस्कृतिक झाँकीले दर्शकको ध्यान खिचेको थियो।

विशेषगरी नेपाली समुदायका युवायुवतीले विभिन्न जातजातिको मौलिक पोशाकमा प्रस्तुत गरेको सांस्कृतिक प्रदर्शनलाई दर्शकहरूले उत्साहका साथ अवलोकन गरेका थिए। नेपाली संगीत र नृत्यसँगै नेपालको सभ्यता तथा सांस्कृतिक विविधतालाई झल्काउने प्रस्तुति महोत्सवको आकर्षण बनेको सहभागीहरूले बताएका छन्।

हरेक वर्ष आयोजना हुने यो महोत्सवमा विश्वभरका समुदायले आफ्नो देशको संस्कृति प्रदर्शन गर्ने गर्छन्। नेपाली समुदायले पनि विगत केही वर्षदेखि निरन्तर सहभागिता जनाउँदै आएको छ। आयोजकहरूका अनुसार यस्ता कार्यक्रमले विदेशमा नेपालको सांस्कृतिक पहिचान स्थापित गर्न, पर्यटन प्रवर्द्धन गर्न तथा नेपाली समुदायबीच एकता मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

जर्मनीमा बसोबास गर्ने नेपालीहरूले आफ्नो मौलिक संस्कृति अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न पाउँदा गर्व महसुस भएको बताएका छन्। उनीहरूका अनुसार विदेशी भूमिमा नेपालको पहिचान झल्किने कार्यक्रमले नयाँ पुस्तालाई पनि आफ्नो भाषा, संस्कृति र परम्परासँग जोडिराख्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button