बैदेशिक रोजगारविशेष खबरसमाचार

अवैध श्रममा फसाइएका १२ नेपाली कम्बोडियाबाट उद्धार

काठमाडौं – कम्बोडियामा विभिन्न प्रलोभनमा परेर अवैध काममा संलग्न गराइएका १२ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइएको छ। उनीहरूलाई थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको पहलमा सुरक्षित रूपमा नेपाल ल्याइएको हो।

दूतावासका अनुसार ती नेपालीहरूलाई कम्बोडियामा गैरकानुनी रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य अवैध गतिविधिमा संलग्न गराइएको थियो। साथै केही नेपालीहरू भिसाविना वा भिसाको म्याद सकिएपछि पनि त्यहाँ बसिरहेको अवस्थामा भेटिएका थिए।

कम्बोडिया सरकारको समन्वयमा उनीहरूको उद्धार प्रक्रिया अघि बढाइएको थियो भने गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा सोमबार उनीहरूलाई नेपाल पठाइएको जनाइएको छ।

यसअघि पनि यस्तै अवस्थामा परेका नेपालीहरूलाई विभिन्न चरणमा उद्धार गरी स्वदेश फर्काइएको छ। हाल पनि कठिन परिस्थितिमा रहेका वा सम्पर्कविहीन बनेका अन्य नेपालीहरूको खोजी तथा उद्धारका लागि पहल जारी रहेको दूतावासले जानकारी दिएको छ।

दूतावासले कम्बोडियामा रहेका नेपालीहरूलाई सचेत रहन आग्रह गर्दै कुनै समस्या परेमा आफ्ना प्रतिनिधिहरूसँग सम्पर्क गर्न अनुरोध गरेको छ।

पर्यटनसम्बन्धी तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा भ्रमण भिसामा कम्बोडिया जाने नेपालीहरूको संख्या तीव्र रूपमा बढेको देखिन्छ, जसले जोखिम बढ्ने संकेत पनि गरेको सरोकारवालाहरूको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button