अर्थ/ ब्यापारविशेष खबरसमाचार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, निगम अझै घाटामा

२६ चैत, काठमाडौं – नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा आर्थिक दबाब बढेको भन्दै निगमले मूल्य समायोजन गरेको जनाएको छ ।

नयाँ दरअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर २५ रुपैयाँले वृद्धि गरिएको छ । यससँगै पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ ।

निगमका अनुसार भन्सार महसुल र पूर्वाधार विकास कर समायोजन गरेपछि पनि घाटा कम हुन नसकेको अवस्था छ । हाल पेट्रोलमा प्रति लिटर करिब १६ रुपैयाँभन्दा बढी, डिजेलमा १०० रुपैयाँभन्दा बढी र एलपी ग्यासमा प्रति सिलिण्डर ४ सय रुपैयाँभन्दा बढी घाटा भइरहेको जनाइएको छ ।

त्यस्तै, एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १०० रुपैयाँ बढाएर १४.२ केजी ग्यासको मूल्य २,०१० रुपैयाँ कायम गरिएको छ । आन्तरिक हवाई इन्धनमा पनि प्रति लिटर ६ रुपैयाँले वृद्धि गरिएको छ ।

निगमले मूल्य वृद्धि गरेपछि पनि पाक्षिक रूपमा अर्बौं रुपैयाँ घाटा कायमै रहने उल्लेख गरेको छ । निरन्तर घाटा बढिरहेमा इन्धन आयात र भुक्तानी प्रक्रियामा समस्या आउन सक्ने भन्दै निगमले उपभोक्तालाई इन्धनको मितव्ययी प्रयोग गर्न आग्रह गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button