खेलकुद खबरसमाचार

पुलिसको सानदार जित, कोशी ६ विकेटले पराजित

काठमाडौँ- विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि सानदार जित हासिल गरेको छ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा मङ्गलबार सम्पन्न खेलमा पुलिसले कोशीलाई ६ विकेटले पराजित गर्‍यो। १६३ रनको लक्ष्य पछ्याएको पुलिसले ३३.५ ओभरमा ४ विकेट गुमाउँदै १६५ रन बनाउँदै सहज जित निकालेको हो।

पुलिसको जितमा कप्तान आरिफ शेख र रसिख खान चम्किए। पाँचौँ नम्बरमा आएका रसिखले अविजित ७३ रन बनाउँदा छैटौँ नम्बरमा आएका आरिफले अविजित ८१ रनको उत्कृष्ट इनिङ्स खेले। रसिखले ९० बलमा ८ चौका र १ छक्का प्रहार गरे भने आरिफले ७९ बलमा ११ चौका र १ छक्का प्रहार गरे।

पुलिसका सुरुआती चार ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन्। ओपनर दिनेश खरेल २ रनमा आउट हुँदा अन्य तीन ब्याट्सम्यान शून्यमै पेभेलियन फर्किएका थिए।

कोशीका लागि बलिङतर्फ विपिन महतोले २ तथा दीपेश कँडेलले १ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको कोशीले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १६२ रन बनाएको थियो। कप्तान सुजन थपलियाले सर्वाधिक ४८ रन बनाउँदा सुमन श्रेष्ठले ४३, अङ्कित सुवेदीले २६ र सिवास बजगाईंले १५ रनको योगदान दिएका थिए।

पुलिसका दिनेश खरेलले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए। ललित राजवंशी र सागर ढकालले समान २–२ विकेट हात पारे।

यस जितसँगै पुलिसले ५ खेलबाट ७ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट १ अङ्क मात्र जोडेको कोशी तालिकाको पुछारमा रहेको छ। मधेश र त्रिभुवन आर्मीको पनि ७–७ अङ्क रहेको छ।

प्रतियोगितामा ३ विभागीय टोली (नेपाल पुलिस, त्रिभुवन आर्मी, नेपाल एपीएफ क्लब) र ७ प्रदेशसहित कुल १० टोलीको सहभागिता रहेको छ। विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button