भारतीय सङ्गीतकी महान् गायिका आशा भोसलेको निधन

काठमाडौँ, चैत २९ गते – भारतीय सङ्गीत जगतकी प्रख्यात तथा वरिष्ठ गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातपछि शनिबार उहाँलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा आइतबार उहाँको निधन भएको हो।
अस्पताल स्रोतका अनुसार हृदयाघात र श्वासप्रश्वाससम्बन्धी समस्याका कारण उहाँलाई भर्ना गरिएको थियो। तर उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि उहाँको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उहाँको अन्त्येष्टि सोमबार अपराह्न ४ बजे मुम्बईको शिवाजी पार्कमा पूर्ण राजकीय सम्मानका साथ गरिने भएको छ।
सन् १९३३ सेप्टेम्बर ८ मा साङ्गलीमा जन्मिनुभएकी आशा भोसले, पण्डित दीनानाथ मङ्गेशकरकी तेस्रो सन्तान हुनुहुन्थ्यो। १० वर्षको उमेरदेखि गायन यात्रा सुरु गर्नुभएकी उहाँले करिब सात दशक लामो करियरमा ११ हजारभन्दा बढी गीतमा स्वर दिनुभएको छ।
सन् २०११ मा गिनिज वर्ल्ड रेकर्ड्सले उहाँलाई विश्वमै सबैभन्दा धेरै गीत रेकर्ड गर्ने कलाकारका रूपमा मान्यता दिएको थियो।
उहाँले ‘नयाँ दौर’, ‘तीसरी मञ्जिल’, ‘उमराव जान’, ‘इजाजत’ र ‘रङ्गीला’ जस्ता चर्चित चलचित्रहरूमा अविस्मरणीय गीतहरू गाउनुभएको छ। उहाँले दुई पटक राष्ट्रिय चलचित्र पुरस्कार, दादासाहेब फाल्के पुरस्कार (२००१) र पद्म विभूषण जस्ता प्रतिष्ठित सम्मान प्राप्त गर्नुभएको थियो।
सन् १९९७ मा उहाँ ग्रामी अवार्डका लागि मनोनयन हुने पहिलो भारतीय गायिका समेत बन्नुभएको थियो।
उहाँको निधनसँगै भारतीय सङ्गीत जगतको एक स्वर्णिम युगको अन्त्य भएको छ। पार्श्व गायनको इतिहासमा उहाँको योगदान अमिट रहनेछ। उहाँको स्वरले विश्वभरका सङ्गीतप्रेमीहरूको मनमा सधैँ विशेष स्थान बनाइरहनेछ।



