विशेष खबरसमाचारसूचना-प्रविधि

२४ घण्टाभित्र लाइसेन्स छाप्ने व्यवस्था सुरु

काठमाडौं, वैशाख ४ — सरकारले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) राजस्व तिरेको २४ घण्टाभित्र छापेर वितरण गर्ने व्यवस्था लागू गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार ट्रायल पास गरेपछि लामो समयसम्म लाइसेन्स नपाउने समस्या अब अन्त्य हुने भएको छ।

मन्त्री तिमिल्सिनाले लाइसेन्स छपाइ प्रक्रियालाई तीव्र बनाउँदै बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताउनुभयो।
“अब सम्भव कामलाई असम्भव भन्दै रोक्ने प्रवृत्ति अन्त्य हुन्छ,” उहाँले भन्नुभयो।

निरीक्षणका क्रममा उहाँले केन्द्रमा रहेका उपकरणको प्रभावकारी प्रयोगमा जोड दिँदै करिब एक अर्ब बराबरका उपकरण लामो समयसम्म प्रयोगविहीन रहेकोप्रति असन्तुष्टि जनाउनुभयो। तीन वर्षदेखि थन्किएका मेसिनहरू अहिले सञ्चालनमा ल्याइएको जानकारी दिँदै विगतमा काम किन हुन सकेन भन्ने प्रश्न पनि उठाउनुभयो।

मन्त्री तिमिल्सिनाले नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकता दिन निर्देशन दिँदै सरकार जनताको हितमा केन्द्रित हुने स्पष्ट पार्नुभयो। साथै, सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

त्यस्तै, देशभर मोबाइल नेटवर्क र इन्टरनेट सेवा सुधार गर्ने विषय पनि प्राथमिकतामा रहेको उहाँले उल्लेख गर्नुभयो।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार लाइसेन्स छपाइ भइरहेको छ। वैशाख १२ भित्र १२ लाख र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।

भविष्यमा यही केन्द्रबाट राहदानी, स्मार्ट कार्ड, हुलाक टिकटलगायत महत्वपूर्ण कागजात पनि छाप्ने योजना रहेको जानकारी दिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button