इजरायलसहित ४ देशका लागि पुनः श्रम स्वीकृति खुला

२ वैशाख, काठमाडौं । सरकारले इजरायलसहित चार देशका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ३१ चैत २०८२ मा भएको मन्त्रीस्तरीय निर्णयअनुसार इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति दिने व्यवस्था गरिएको हो।
यसअघि इजरायल–अमेरिका र इरानबीचको द्वन्द्वका कारण यी देशमा श्रम स्वीकृति प्रक्रिया अस्थायी रूपमा स्थगित गरिएको थियो।
त्यस्तै, इराकका हकमा भने ११ पुस २०८२ को निर्णयअनुसार नै श्रम स्वीकृति प्रदान हुने वैदेशिक रोजगार विभागले जनाएको छ।
मन्त्रालयले १७ फागुन २०८२ मा पश्चिम एसिया तथा खाडी क्षेत्रका साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, लेबनान र इराकका लागि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति रोक्ने निर्णय गरेको थियो।
खाडी क्षेत्रमा इरानले अमेरिकी सैन्य अड्डामाथि ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीको सुरक्षामा जोखिम बढेको भन्दै यस्तो कदम चालिएको थियो।
पछि अवस्था क्रमशः सामान्य हुँदै गएपछि ३ चैत २०८२ मा साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति खुला गरिएको थियो।
अब परराष्ट्र मन्त्रालयअन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम (ईआरटी)’ को सिफारिसका आधारमा बाँकी देशका लागि पनि पुनः श्रम स्वीकृति खुला गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नयाँ श्रम स्वीकृतिको निर्णय भने ती देशको अवस्था पूर्ण रूपमा सामान्य भएपछि मात्रै गरिनेछ।



