
गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्ष पदमा राधिका गुरुङ (टिका) निर्विरोध निर्वाचित भएकी छन्।
संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंस्थित होटल सोल्टीमा आयोजना हुँदैछ। उक्त महाधिवेशनको उद्घाटन कार्यक्रम प्रधानमन्त्री सुशीला कार्कीले गर्ने तय गरिएको छ। बुधबार उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न हुँदा महिला उपाध्यक्ष पदका लागि गुरुङको मात्र उम्मेदवारी परेको थियो।
एकल उम्मेदवारी परेपछि उनी स्वतः निर्विरोध निर्वाचित भएकी हुन्। गुरुङले यसअघि पनि एनआरएनएको महिला सचिवको जिम्मेवारी सम्हाल्दै दुई कार्यकाल काम गरिसकेकी छन्। १०औँ र ११औँ महाधिवेशनबाट उनी उक्त पदमा निर्वाचित भएकी थिइन्।
निर्विरोध चयन भएपछि गुरुङले आफूले महिला सचिवका रूपमा काम गर्दा महिला अधिकार, सशक्तीकरण र नेतृत्व विकासका लागि गरेको प्रयासको सम्मान भएको महसुस भएको बताएकी छन्। यसले आफूलाई अझ जिम्मेवार बनाएको पनि उनको भनाइ छ।
अब नयाँ जिम्मेवारीसँगै विदेशमा रहेका नेपाली महिलाको सुरक्षा, वैदेशिक रोजगारीमा रहेका महिलाको अधिकार तथा स्वदेश फर्किएपछि उनीहरूको सीपको सदुपयोग गर्ने विषयमा थप सक्रिय भएर काम गर्ने उनले बताइन्।
झण्डै तीन दशकदेखि हङकङमा बसोबास गर्दै आएकी गुरुङले त्यहाँ एनआरएनए हङकङको अध्यक्षका रूपमा दुई कार्यकाल नेतृत्व गरिसकेकी छन्। साथै, उनले एनआरएनएको एसिया–प्यासिफिक क्षेत्रीय संयोजकको जिम्मेवारी पनि सम्हालेकी थिइन्।
दुई दशकभन्दा बढी समयदेखि एनआरएनए अभियानमा सक्रिय गुरुङ हङकङमा स्थापित व्यवसायी तथा सामाजिक अभियन्ता पनि हुन्। उनले समुदायिक एकता, महिला अधिकार र सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर भूमिका खेल्दै आएकी छन्।



