टर्कीको विद्यालयमा गोलीबारी: ९ जनाको मृत्यु, १३ घाइते

इस्तानबुल – टर्कीको दक्षिणी क्षेत्रमा रहेको एक विद्यालयमा भएको गोलीबारीमा नौ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा आठ विद्यार्थी र एक शिक्षक रहेका छन्।
टर्कीका गृहमन्त्री मुस्तफा सिफ्सीले कहरामनमारास क्षेत्रस्थित आयसर क्यालिक सेकेन्डरी स्कुलमा घटना भएको पुष्टि गरेका छन्। उनका अनुसार उक्त घटनामा अन्य १३ जना घाइते भएका छन्, जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रारम्भिक विवरणअनुसार, १४ वर्षीय आक्रमणकारी विद्यार्थीले दुई वटा कक्षा कोठामा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए। घटनाका क्रममा आक्रमणकारी पनि मारिएको जनाइएको छ।
बीबीसीका अनुसार आक्रमणकारीसँग पाँच थान बन्दुक र सात वटा म्यागेजिन रहेको उल्लेख गरिएको छ। घटनाको कारण भने अझै स्पष्ट हुन सकेको छैन।
स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणकारीका बुवा सेवानिवृत्त प्रहरी अधिकारी हुन्। यसअघि पनि मंगलबार टर्कीको दक्षिणी क्षेत्रकै एक हाई स्कुलमा पूर्व विद्यार्थीले गोली चलाउँदा १६ जना घाइते भएका थिए। त्यस घटनामा आक्रमणकारीले पछि आफैंलाई गोली हानेका थिए।



