NRNA

प्रत्यक्ष निर्वाचन र युवामैत्री नेतृत्वको माग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको जेन्जी समूह’ले आसन्न अधिवेशन तत्काल रोक्न माग गर्दै नेतृत्वलाई औपचारिक पत्र बुझाएको छ । जेन्जी समूहका प्रतिनिधिहरू दीपेश खत्री, भीमसेन थापा, नारायण समाजसेवी र मदन पौडेललगायतको टोलीले संघको केन्द्रीय कार्यालय पुगेर अध्यक्ष डा. बद्री केसीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

समूहले हाल अघि बढाइएको निर्वाचन प्रक्रिया अवैध र विवादास्पद भएको दाबी गर्दै तत्काल अधिवेशन स्थगित गरी आगामी अक्टोबरमा व्यापक सहमतिका साथ प्रत्यक्ष (भौतिक) निर्वाचन गर्न जोडदार माग गरेको छ ।

जेन्जी समूहले एउटै कार्यकालमा दुई अध्यक्ष रहने व्यवस्थाले संस्थामा अन्योल र अविश्वास सिर्जना गरेको ठहर गरेको छ ।

यसबाट सिर्जित सम्पूर्ण नैतिक र संस्थागत संकटको जिम्मेवारी वर्तमान अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठले लिनुपर्ने खत्रीले बताए । अनलाइन र भौतिक मतदान प्रक्रियामा देखिएको अस्पष्टता तथा ढिलासुस्तीले निर्वाचनको वैधतामाथि गम्भीर प्रश्न उठाएको समूहको ठहर छ । ‘शंकास्पद निर्वाचनबाट आउने नेतृत्वले कानुनी चुनौती मात्र निम्त्याउँछ,’ ज्ञापनपत्रमा भनिएको छ ।

विगतका कार्यकालमा भएका आर्थिक निर्णय, कर्मचारी नियुक्ति र विभिन्न सम्झौतामा गम्भीर अनियमितता भएको दाबी गर्दै जेन्जी समूहले आफूहरूसँग त्यससम्बन्धी सुरक्षित प्रमाण रहेको जनाएको छ । ती विषयमा निष्पक्ष छानबिन गर्न एक स्वतन्त्र र विश्वसनीय छानबिन समिति गठनको माग गरिएको छ । छानबिनका क्रममा दोषी देखिएका जो-कोहीलाई पनि कानुनी कठघरामा ल्याउनुपर्ने उनीहरूको अडान छ ।

देशको राजनीतिमा पनि युवाहरूको उदय भइरहेको सन्दर्भ जोड्दै जेन्जी समूहले अब एनआरएनएको बागडोर पनि नयाँ पुस्ताले सम्हाल्नुपर्ने बताएको छ । “पुरानो पुस्ताको एकाधिकार र भ्रष्टाचार अब सह्य हुँदैन, संस्थालाई सही बाटोमा ल्याउन युवा नेतृत्वको विकल्प छैन,” नारायण समाजसेवीले टिप्पणी गरे ।
अन्तिम कानुनी चेतावनी र आन्दोलनको संकेत
समूहका सदस्य दीपेश खत्रीका अनुसार भोलिसम्ममा समूहले आगामी ठोस कदमबारे औपचारिक निर्णय सार्वजनिक गर्नेछ ।

एनआरएनएलाई एकलौटी र मनोमानी ढंगले चलाउन खोजिएको भन्दै विश्वभरका युवा एनआरएन अभियन्ताहरूलाई सामाजिक सञ्जालमार्फत गोलबन्द गर्ने कार्य भइरहेको समूहले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button