
काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलका सांसदहरूले सदन अवरुद्ध गरेका छन् ।
बुधबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्ने प्रस्ताव प्रधानमन्त्री शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्न अनुमति दिइएपछि विपक्षी सांसदहरूले आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले पटक–पटक सांसदहरूलाई आफ्नो स्थानमा बस्न आग्रह गरे पनि विपक्षी दलका सांसदहरूले विरोध जारी राखेका छन् ।
यसैबीच, श्रम संस्कृति पार्टीले प्रधानमन्त्री स्वयं उपस्थित नभएसम्म नीति तथा कार्यक्रममाथि छलफल अघि बढ्न नसक्ने अडान राख्दै बैठक बहिष्कार गरेको छ ।
बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले आ–आफ्नो धारणा राख्नुभएको थियो । सभामुखले समय उपलब्ध गराएपछि सांसदहरूबीच सवाल–जवाफ समेत भएको थियो ।
प्रतिनिधि सभाको नियमावलीअनुसार प्रधानमन्त्री उपस्थित हुन नसकेको अवस्थामा तोकिएको मन्त्रीले सरकारको तर्फबाट जवाफ दिन सक्ने व्यवस्था रहेको छ ।



