भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा ३२ जनाको मृत्यु, ७०० भन्दा बढी घाइते
venezuela-earthquake-32-dead-700-injured

भेनेजुएला, असार १० गते। भेनेजुएलामा बुधबार साँझ आएका दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताउनुभएको छ।
७.२ र ७.५ म्याग्निच्युडका लगातार दुई भूकम्पपछि देशका विभिन्न क्षेत्रमा दर्जनौँ भवनहरू भत्किएका छन्। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र आपत्कालीन उद्धार टोली परिचालन गरिएको छ।
सरकारी विवरणअनुसार ला गुआइरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ ठूलो मानवीय संकट सिर्जना भएको जनाउँदै भग्नावशेषमा फसेकाहरूको उद्धार कार्य तीव्र रूपमा भइरहेको बताइएको छ।
सरकारले प्रभावित क्षेत्रमा राहत, उपचार तथा आवश्यक सहायता उपलब्ध गराउने कार्यलाई तीव्र बनाएको जनाएको छ। साथै, भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम पनि जारी रहेको छ।



