पोखराबाट दुबईको नियमित उडान सेप्टेम्बर २३ देखि, फ्लाइ दुबई र पर्यटन व्यवसायीबीच दिगोपनबारे छलफल

पोखरा, असार २२ – आगामी सेप्टेम्बर २३, २०२६ देखि सुरु हुने पोखरा–दुबई–पोखरा नियमित अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन र सफल बनाउन फ्लाइ दुबईका प्रतिनिधि तथा पोखराका पर्यटन व्यवसायीबीच महत्वपूर्ण छलफल भएको छ।
पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखरासँग भएको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा–दुबई उडानलाई दिगो बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीय समुदाय, पर्यटन व्यवसायी र सरोकारवालाको सक्रिय सहयोगले यो सेवा सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।
महाप्रबन्धक शाहीले पोखराबाट दुबई हुँदै लन्डन, न्यूयोर्क, टोकियोसहित विश्वका २५० भन्दा बढी गन्तव्यमा सहज हवाई पहुँच स्थापित हुने बताउनुभयो।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले अन्तर्राष्ट्रिय उडानलाई सफल बनाउन निजी क्षेत्रबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। फ्लाइ दुबईको भगिनी संस्था फ्लाइ इमिरेट्सका महाप्रबन्धक रमेश लामिछानेले पनि उडानलाई दीर्घकालीन बनाउने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो।
रेवान पोखरा र फ्लाइ दुबईबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सहकार्य तथा विदेशी पर्यटक आगमन बढाउने विषयमा समेत छलफल भएको थियो।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानको अनुमति दिएको थियो। कम्पनीले सुरुमा दैनिक एक उडान सञ्चालन गर्ने र मार्च २६, २०२७ सम्मका लागि टिकट बुकिङ खुला गरिसकेको जनाएको छ।
फ्लाइ दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, सेफ्टी र सञ्चालन व्यवस्थाको निरीक्षणसमेत गरिसकेको छ। पर्यटन व्यवसायीहरूले यो उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, विदेशी पर्यटक आगमन वृद्धि र गण्डकी प्रदेशको पर्यटन तथा आर्थिक गतिविधिमा नयाँ गति ल्याउने अपेक्षा गरेका छन्।



