विदेशबाट फर्किएका महेश साह पेडा व्यवसायमा सफल, मासिक रु. ८० हजारभन्दा बढी आम्दानी

सुनसरी, २१ असार — ११ वर्ष वैदेशिक रोजगारीका लागि मलेसियामा बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साह अहिले आफ्नै गाउँमा पेडा व्यवसाय सञ्चालन गर्दै मासिक रु. ८० हजारभन्दा बढी आम्दानी गरिरहेका छन्।
वैदेशिक रोजगारीबाट फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाएका साहले चतराघाटका पेडा पसलबाट प्रेरणा लिएर तीन वर्षअघि आफ्नै व्यवसाय सुरु गरेका हुन्। सुरुमा विभिन्न मिठाइ उत्पादन गरे पनि अहिले पेडा नै उनको मुख्य व्यवसाय बनेको छ।
महेश साहले दैनिक १२० लिटरभन्दा बढी दूध प्रयोग गरेर पेडा उत्पादन गर्दै आएका छन्। दूध उदयपुरको रामपुर र श्रीलङ्का टप्पु क्षेत्रबाट खरिद गरिन्छ। उनका अनुसार अहिले देशका विभिन्न जिल्लाबाट आउने यात्रुका साथै अनलाइनमार्फत पनि पर्याप्त अर्डर आउने गरेको छ।
२०७२ सालमा कोशी पुल सञ्चालनमा आएपछि चतरा–गाईघाट–सिन्धुली हुँदै काठमाडौं जोड्ने वैकल्पिक सडकमार्गमा सवारीसाधनको चहलपहल बढेसँगै चतराघाट पेडा व्यवसायको प्रमुख केन्द्रका रूपमा विकास हुँदै गएको छ।
महेश साह भन्छन्, “विदेशमा १२ घण्टा काम गर्दा मुस्किलले रु. ४०–४५ हजार कमाइ हुन्थ्यो। अहिले आफ्नै गाउँमा परिवारसँग बसेर काम गर्दा मासिक रु. ७०–८० हजारसम्म आम्दानी हुन्छ। आफ्नै ठाउँमा बसेर काम गर्न पाउनु नै सबैभन्दा ठूलो सन्तुष्टि हो।”
हाल चतराघाट क्षेत्रमा एक दर्जनभन्दा बढी पेडा पसल सञ्चालनमा रहेका छन्। कोशी पुल निर्माणपछि बढेको यात्रु आवागमनसँगै चतराघाट पूर्वी नेपालको चर्चित पेडा उत्पादन तथा बिक्री केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।



