
काठमाडौं, असार २१ — वर्तमान सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा परराष्ट्र मन्त्रालयले आफ्नो कार्यप्रगति सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार यस अवधिमा सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने, विदेशमा रहेका नेपालीको सुरक्षा तथा आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय काम भएका छन्।
मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीलाई कन्सुलर सेवा सहज बनाउन ‘मोफा मित्र’ (MOFA Mitra) एप सञ्चालनमा ल्याएको छ। साथै, कन्सुलर तथा कानुनी परामर्श सेवा ५३७ स्थानीय तहसम्म विस्तार गरिएको जनाएको छ।
यस्तै, दक्षिणपूर्वी एसियामा अनलाइन स्क्यामिङमा फसेका ८१९ नेपालीको उद्धार गरिएको, पश्चिम एसियाको तनावका कारण प्रभावित १,०४७ नेपालीलाई स्वदेश फर्काइएको तथा यूएई र साउदी अरबबाट १६१ नेपालीले क्षमादान पाएको मन्त्रालयले जनाएको छ।
राहदानी सेवामा सुधार गर्दै नयाँ प्रणाली सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ भने जुनसुकै जिल्लाबाट राहदानी आवेदन दिन सकिने व्यवस्था अघि बढाइएको छ।
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्दै लगानी, पर्यटन, निर्यात र वैदेशिक सहकार्य प्रवर्द्धनका लागि विभिन्न देशसँग संवाद तीव्र बनाइएको मन्त्रालयले जनाएको छ। साथै, संयुक्त राष्ट्रसंघबाट अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा गराउन नेपाल सफल भएको र जर्मनीमा रहेका ८०० वर्ष पुराना नेपाली ऐतिहासिक हस्तलिखित सामग्री नेपाल फर्काउने सम्झौता समेत भएको उल्लेख गरिएको छ।
परराष्ट्र मन्त्रालयले पहिलो पटक इन्टर्नसिप फेलोसिप कार्यक्रम सुरु गरेको, राजदूत नियुक्तिका लागि खुला आवेदन आह्वान गरेको तथा हुण्डी नियन्त्रणका लागि विदेशस्थित नेपाली नियोगमार्फत सचेतना अभियान सञ्चालन गरिएको पनि जनाएको छ।



