नेपालीहरूको उद्धारका लागि आजदेखि पश्चिम एसियामा विशेष उडान सञ्चालन

काठमाडौं – पश्चिम एसियामा जारी द्वन्द्वका कारण प्रभावित भएका नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउने तथा गन्तव्यसम्म पुर्याउने उद्देश्यले नेपाल सरकारले आजदेखि विशेष उद्धार उडान सञ्चालन सुरु गरेको छ। यो अभियान तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का अनुसार आज अप्रिल ३ मा काठमाडौं–दुबई उडान हुँदैछ भने भोलि अप्रिल ४ मा दुबई–काठमाडौं र अप्रिल ५ मा काठमाडौं–दमाम तथा दमाम–काठमाडौं उडान तालिका तय गरिएको छ।
सरकारका अनुसार पश्चिम एसियामा रहेका नेपालीहरू विभिन्न कारणले स्वदेश फर्किन वा आफ्नो गन्तव्यमा पुग्न नसकेको अवस्थालाई मध्यनजर गर्दै यी विशेष उडानको व्यवस्था गरिएको हो।
यस विषयमा चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरूबीच समन्वय बैठक बसेको थियो। उक्त बैठकले उद्धार, आवागमन व्यवस्थापन र आवश्यक हवाई सेवा सञ्चालनका विषयमा निर्णय गरेको थियो।
परराष्ट्रमन्त्री शिशिर खनालको निर्देशनपछि निगमले विशेष उडान सञ्चालनको प्रक्रिया अगाडि बढाएको हो।
उल्लेखनीय छ कि पश्चिम एसियामा बढ्दो तनाव र असुरक्षा अवस्थाका कारण फेब्रुअरी २८ देखि नियमित अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुँदै आएका छन्।
उडान सञ्चालनका क्रममा बीमा व्यवस्थालाई सहज बनाउन राष्ट्रिय बीमा कम्पनीले आवश्यक सहयोग गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
यस कठिन परिस्थितिमा समन्वय र सहयोग गर्ने सबै सरोकारवाला निकायप्रति मन्त्रालयले आभारसमेत व्यक्त गरेको छ।




