
काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको आर्थिक विकासमा गैरआवासीय नेपाली (एनआरएनए) को योगदान अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ।
शुक्रबार एनआरएनएको प्रतिनिधिमण्डलसँग भएको छलफलका क्रममा उहाँले संस्थाले उठाएका विविध मुद्दाहरू देशको हितसँग जोडिएका भएकाले तिनको कार्यान्वयनतर्फ गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो। विशेष गरी नागरिकतासम्बन्धी विषयमा कानुनी जटिलता देखिएकाले थप अध्ययन तथा आवश्यक संशोधन अपरिहार्य रहेको उहाँको भनाइ थियो।
मन्त्री खनालले देशको आर्थिक रूपान्तरणका लागि ठूला लगानी परियोजनालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै सेवा क्षेत्रको सुदृढीकरणका लागि पनि संस्थागत पहल आवश्यक रहेको धारणा राख्नुभयो।
त्यसैगरी, पोर्चुगलमा रहेका नेपालीहरूको समस्याबारे मन्त्रालयले मानवीय आधारमा पहल गरिरहेको जानकारी दिँदै उहाँले प्राविधिक कठिनाइ हुँदाहुँदै पनि समाधान खोज्न सम्बन्धित मुलुकसँग निरन्तर संवाद भइरहेको बताउनुभयो।
उक्त छलफलमा एनआरएनएका पदाधिकारीहरूले नागरिकता, वैदेशिक लगानी, श्रम आप्रवासन तथा विदेशस्थित नेपालीहरूको सुरक्षासम्बन्धी विषयहरू उठाएको एनआरएनए सचिवालयले जनाएको छ।




