
काठमाडौं । मुलुकको शासकीय प्रणाली सुधार, दिगो आर्थिक विकास तथा प्रमाणमा आधारित नीति निर्माणमा योगदान पुर्याउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा विशेष मस्तिष्क मन्थन कार्यक्रम सम्पन्न गरिएको छ।
बालुवाटारस्थित एनआरएनए सचिवालयमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली, अवकाशप्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता तथा सरोकारवालाबीच नेपालको नीतिगत सुधार, आर्थिक रूपान्तरण र दीर्घकालीन विकास रणनीतिबारे व्यापक छलफल भएको हो।
कार्यक्रममा मुलुकमा विद्यमान नीतिगत अन्तर (Policy Gap) पहिचान गर्दै दीर्घकालीन नीति सुधारका सम्भावनाबारे गहन विमर्श गरिएको थियो। सहभागीहरूले अध्ययन, अनुसन्धान तथा नीति पैरवीका लागि अनुभवी, दक्ष तथा प्राज्ञिक क्षमता भएका विज्ञहरूको प्रभावकारी उपयोग गर्न संस्थागत संयन्त्र आवश्यक रहेको निष्कर्ष निकालेका छन्।
छलफलका क्रममा गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, अनुभव तथा पुँजीलाई नेपालको समृद्धि र विकासमा प्रभावकारी रूपमा परिचालन गर्न कानुनी तथा नीतिगत ढाँचा निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो। “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक संरचना विकास गर्नुपर्ने धारणा सहभागीहरूले राखेका थिए।
आर्थिक रूपान्तरण र उत्पादनमुखी नीतिमा जोड
कार्यक्रममा नेपालको दीर्घकालीन तथा समावेशी आर्थिक विकासका लागि संरचनागत रूपान्तरण (Structural Transformation) आधारित आर्थिक नीति आवश्यक रहेको बताइएको थियो।
उत्पादन तथा उत्पादकत्व वृद्धि, औद्योगिकीकरण, डिजिटल अर्थतन्त्र, हरित अर्थतन्त्र, रोजगारी सिर्जना तथा सार्वजनिक–निजी–सहकारी साझेदारीलाई सुदृढ बनाउने नीतिगत सुधारमा विशेष प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरिएको थियो।
सहभागीहरूले निजी क्षेत्र, शैक्षिक संस्था तथा विदेशस्थित नेपाली विज्ञहरूबीच समन्वय गरी नीति संवाद, अनुसन्धान तथा रणनीतिक सुझावका लागि साझा प्लेटफर्म निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।
१५ विषयगत क्षेत्रमा प्राथमिकता
कार्यक्रममा निम्न १५ विषयगत क्षेत्रमा केन्द्रित भएर काम अघि बढाउन सुझाव दिइएको थियोः
- कानुन, संविधान तथा सुशासन
- अर्थतन्त्र, व्यापार तथा लगानी
- जलवायु परिवर्तन, दिगो विकास तथा प्राकृतिक स्रोत व्यवस्थापन
- स्वास्थ्य, शिक्षा तथा सरसफाइ
- परराष्ट्र मामिला तथा कनेक्टिभिटी
- विज्ञान, प्रविधि तथा नवप्रवर्तन
- कृषि तथा ग्रामीण विकास
- ऊर्जा
- श्रम, आप्रवासन तथा वैदेशिक रोजगार व्यवस्थापन
- पर्यटन, संस्कृति तथा सम्पदा संरक्षण
- पूर्वाधार विकास, सहरीकरण तथा यातायात व्यवस्थापन
- विपद् व्यवस्थापन तथा संकट न्यूनीकरण
- मानव संसाधन विकास तथा व्यावसायिक सीप तालिम
- उद्योग, उत्पादन तथा आपूर्ति
- युवा विज्ञहरूको समावेशीकरण तथा डायस्पोराका नेपाली विज्ञहरूको ज्ञान, सीप र अन्तर्राष्ट्रिय अनुभवको उपयोग
उच्चस्तरीय व्यक्तित्वहरूको सहभागिता
कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्मा, निवर्तमान अध्यक्ष डा. बद्री केसी, महासचिव डा. चिरञ्जीवी खड्का, उपमहासचिव दिनेश कुमार घिमिरे तथा कोषाध्यक्ष कृष्ण तिमल्सिनाले आफ्ना धारणा राखेका थिए।
त्यसैगरी पूर्व मुख्य सचिवहरू एकनारायण अर्याल र शंकर बैरागी, पूर्व सचिवहरू शिशिरकुमार ढुङ्गाना, प्रेम कँडेल, रामप्रसाद घिमिरे, धनराज ज्ञवाली, फणिन्द्र गौतम तथा मणिलाम गेलालको उपस्थिति रहेको थियो।
यसैगरी सशस्त्र प्रहरीका अवकाशप्राप्त महानिरीक्षक राजु अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष दीपक श्रेष्ठ लगायत विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरू कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीकी पूर्व महाप्रबन्धक संगीता यादव, बिजनेस डेभलपमेन्ट एशोसिएट्स (BDA) का कार्यकारी अधिकृत इन्जिनियर सुदीप पौडेल, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (IPPAN) का अध्यक्ष गणेश कार्की तथा सल्लाहकार पूर्णलाल श्रेष्ठको पनि सहभागिता रहेको थियो।



