
कास्की, १० जेठः पोखरा महानगरपालिकाले बजार क्षेत्रको मध्यभाग हुँदै बग्ने फिर्केखोलाको खोलाघरभित्र निर्माण गरिएका संरचना आजदेखि हटाउन सुरु गरेको छ । सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउन महानगरले दिएको ३५ दिने समयसीमा शनिबार सकिएसँगै डोजर अभियान थालिएको हो ।
महानगरले गत वैशाख ३ गते सूचना जारी गर्दै खोलाघरभित्र रहेका घरटहरा तथा अन्य संरचना हटाउन आग्रह गरेको थियो । महानगर प्रमुख धनराज आचार्यका अनुसार फिर्केखोलाको नापजाँच प्रतिवेदनका आधारमा खोलाघरभित्र बनेका सबै प्रकारका संरचना हटाइनेछ ।
अभियान तीन स्थानबाट एकसाथ सुरु गरिएको छ । अँधेरिकुनादेखि वडा नं ४ तर्फ, फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिर क्षेत्रदेखि वडा नं ५ र ८ तर्फ तथा जिरोकिलोमिटरस्थित लायन्स भवनदेखि फेवातालतर्फ डोजर परिचालन गरिएको महानगरले जनाएको छ ।
महानगरको नापजाँच प्रतिवेदनअनुसार फिर्केखोलामाथि १६० वटा स्थायी तथा अस्थायी संरचना निर्माण गरिएका छन् । तीमध्ये ९७ अस्थायी र ३५ स्थायी संरचना प्रत्यक्ष रूपमा खोलाघर मिचेर बनाइएको उल्लेख छ । साथै २८ वटा संस्थागत संरचनासमेत खोलाक्षेत्रभित्र रहेको पाइएको छ ।
महानगरले सूचना जारी गरेपछि केही संस्था तथा व्यवसायीले भने स्वेच्छाले संरचना खाली गर्न थालेका छन् । फिर्के क्षेत्रमा रहेको लायन्स क्लब र फोटोग्राफर सङ्घले आफ्ना भवन खाली गरिसकेको जनाइएको छ ।
पोखरा महानगरपालिकाका विभिन्न वडा हुँदै फेवातालमा मिसिने फिर्केखोलाको लम्बाइ करिब आठ किलोमिटर रहेको छ । प्राविधिक नापजाँचपछि खोलाघरको सीमाङ्कन गर्दै पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ सीमास्तम्भसमेत गाडिएको महानगरले जनाएको छ ।



