बैदेशिक रोजगारविशेष खबरसमाचारसूचना-प्रविधि

विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप सार्वजनिक, गुनासो अब सिधै नियोगमा पुग्ने

काठमाडौं – विदेशमा रहेका नेपाली नागरिकका समस्या, गुनासो तथा आपतकालीन अवस्थालाई सहज रूपमा सम्बोधन गर्न सरकारले ‘मोफा मित्र’ (MOFA Mitra) मोबाइल एप सार्वजनिक गरेको छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागले विकास गरेको उक्त एप एन्ड्रोइड तथा आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ । एपको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री शिशिर खनालले विभागमा आयोजित कार्यक्रममा गरेका हुन् ।

विभागका सूचना प्रविधि अधिकृत नवीनकुमार झाका अनुसार एपमा मुख्य रूपमा चार वटा महत्वपूर्ण फिचर समावेश गरिएको छ । जसअन्तर्गत खोजतलास तथा उद्धार, शव व्यवस्थापन, बीमा तथा क्षतिपूर्ति र गुनासो/समस्या दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।

विदेशमा समस्यामा परेका, अलपत्र परेका वा हराएका नेपाली नागरिकहरूको खोजतलास तथा उद्धारका लागि अनलाइनमार्फत निवेदन दर्ता गर्न सकिनेछ । त्यस्तै विदेशमा मृत्यु भएका नेपाली नागरिकहरूको शव व्यवस्थापन, बीमा तथा क्षतिपूर्ति रकम दाबी लगायतका प्रक्रिया पनि एपमार्फत सहज रूपमा गर्न सकिने विभागले जनाएको छ ।

एप प्रयोगकर्ताले आफूले दिएको निवेदन वा गुनासोको अवस्था, त्यसउपर भइरहेको कारबाही तथा अनुसन्धानको प्रगति समेत प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी विदेशस्थित नेपाली नियोगहरूको सम्पर्क विवरण, ट्राभल एड्भाइजरी, सुरक्षा सूचना तथा कन्सुलर सेवासम्बन्धी जानकारी पनि एपमै उपलब्ध गराइएको छ । प्रयोगकर्ताले पासपोर्ट नम्बर र जन्ममिति प्रयोग गरेर सहज रूपमा उजुरी तथा निवेदन दर्ता गर्न सक्नेछन् ।

कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री शिशिर खनालले कन्सुलर सेवालाई थप सहज, नागरिकमैत्री, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रविधिको उपयोग अत्यन्त आवश्यक रहेको बताए । उनले एपमार्फत विदेशमा रहेका नेपाली नागरिक र नेपाली नियोगबीच सहज सम्पर्क, समन्वय तथा शीघ्र सूचना आदानप्रदानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार कन्सुलर सेवासम्बन्धी गुनासा तथा समस्याको प्रभावकारी सम्बोधनमा ‘मोफा मित्र’ एपले महत्वपूर्ण भूमिका खेल्नेछ ।

यसअघि अनलाइनमार्फत गुनासा तथा निवेदन दर्ता गर्दा ती सबैभन्दा पहिले विभागमा पुग्ने र त्यसपछि सम्बन्धित नियोगमा पठाउनुपर्ने प्रक्रिया थियो । तर, अब एपमार्फत गरिएको निवेदन तथा गुनासो सिधै सम्बन्धित नेपाली नियोगमा पुग्ने व्यवस्था गरिएको कन्सुलर सेवा विभागकी महानिर्देशक दुरपदा सापकोटाले जानकारी दिइन् ।

महानिर्देशक सापकोटाले नेपाल सरकारको कन्सुलर सेवा आधुनिकीकरण तथा डिजिटल रूपान्तरण नीतिअनुसार विभाग सक्रिय रूपमा काम गरिरहेको बताइन् ।

सरकारले सार्वजनिक गरेको ‘मोफा मित्र’ एप विदेशमा रहेका नेपाली नागरिकका लागि प्रभावकारी डिजिटल सहायता प्रणालीको रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button