
‘भाषा, संस्कार र संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान कहिल्यै नभुलौं’ भन्ने मूल नाराका साथ किराँत राई समुदाय जर्मनीले साकेला उभौली ५०८६ पर्व यस वर्ष पनि भव्य रूपमा मनाएको छ। मे २४ तारिखका दिन जर्मनीको NRW राज्य अन्तर्गत पर्ने गेल्जेनकिर्खेनस्थित निनहाउजेन पार्कमा आयोजना गरिएको कार्यक्रममा जर्मनीभर रहेका किराँत राई समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रकृति पूजा तथा सामूहिक एकताको प्रतीकका रूपमा मनाइने साकेला उभौली पर्वमा समुदायका अग्रजहरूले परम्परागत किराँती संस्कारअनुसार पूजा–अर्चना सम्पन्न गरेका थिए। धार्मिक विधिपछि सहभागीहरूले एकआपसमा हातेमालो गर्दै पारम्परिक भेषभूषामा साकेला नाच प्रस्तुत गरेका थिए। ढोल, झ्याम्टा र किराँती सांस्कृतिक गीतसंगीतले कार्यक्रमस्थल दिनभर नै उत्साहमय बनेको थियो।

कार्यक्रममा जर्मनीका विभिन्न सहरका साथै बेल्जियम तथा आसपासका अन्य युरोपेली मुलुकहरूबाट समेत किराँत राई समुदायका सदस्यहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ। विदेशको व्यस्त जीवनशैलीबीच पनि आफ्नो भाषा, संस्कृति, परम्परा र पहिचानलाई जोगाइराख्न यस्ता सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूले बताएका थिए।
विशेषगरी नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बालबालिका तथा युवायुवतीहरूको पनि उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रममा सहभागीहरूले परम्परागत भेषभूषा प्रदर्शन गर्नुका साथै सामूहिक रूपमा साकेला नृत्यमा सहभागी भई सांस्कृतिक एकता प्रदर्शन गरेका थिए।

आयोजक संस्थाले विदेशमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र सांस्कृतिक संरक्षणलाई निरन्तरता दिन आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने जनाएको छ। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।



