अर्थ/ ब्यापारविशेष खबरसमाचार

फ्लाई दुबईको पोखरा–दुबई सिधा उडानलाई अनुमति, सेप्टेम्बर २३ देखि दैनिक सेवा सुरु हुने

पोखरा, जेठ २७ — अन्तरराष्ट्रिय वायुसेवा कम्पनी फ्लाई दुबई ले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई–पोखरा सिधा दैनिक उडान सेवा सञ्चालन गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीलाई उडान अनुमति प्रदान गरेसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सुरु हुने बाटो खुलेको हो।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला का अनुसार फ्लाई दुबईको उडान तालिका स्वीकृत भइसकेको छ र निर्धारित मितिबाट दैनिक सेवा सञ्चालनमा आउनेछ।

उडान अनुमति अघि फ्लाई दुबईको प्राविधिक टोलीले विमानस्थलको सुरक्षा, सेफ्टी तथा सञ्चालन व्यवस्थाको विस्तृत निरीक्षण गरेको थियो। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा आकर्षित गर्ने प्रतिबद्धता जनाएको केही समयमै यो उपलब्धि हासिल भएको हो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ले फ्लाई दुबईको नियमित उडानलाई पोखराको अन्तरराष्ट्रिय पहिचान, पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। उहाँका अनुसार दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप, अफ्रिका लगायतका ३०० भन्दा बढी अन्तरराष्ट्रिय गन्तव्यसँग पोखराको पहुँच विस्तार हुनेछ।

झण्डै रु २२ अर्ब लागतमा निर्माण भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ मा उद्घाटन भए पनि हालसम्म नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन हुन सकेको थिएन। यसअघि केही चार्टर उडान तथा हिमालय एयरलाइन्सको पोखरा–ल्हासा सेवा सञ्चालन भए पनि दीर्घकालीन रूपमा टिक्न सकेको थिएन।

पर्यटन व्यवसायीहरूले फ्लाई दुबईको आगमनसँगै पोखरामा अन्तरराष्ट्रिय पर्यटकको आगमन बढ्ने, पर्यटन क्षेत्र थप चलायमान हुने तथा काठमाडौँ केन्द्रित हवाई चाप कम हुने विश्वास व्यक्त गरेका छन्। पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान सुरु हुनु पर्यटन राजधानी पोखराका लागि महत्वपूर्ण कोसेढुङ्गा मानिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button