डिकबहादुर खत्री नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा निर्वाचित

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट डिकबहादुर खत्री अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खत्रीले ३४७ मत प्राप्त गर्दै अध्यक्ष पदमा स्पष्ट विजय हासिल गरेका हुन्।
अध्यक्ष पदका अन्य उम्मेदवारमध्ये भुर्तेलले १९२ मत र पाण्डे क्षेत्रीले १७० मत प्राप्त गरेका छन्। निर्वाचनमा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

त्यस्तै, प्रथम उपाध्यक्षमा महेश बस्नेत २४१ मतसहित निर्वाचित भएका छन् भने द्वितीय उपाध्यक्ष पदमा अनिल बोगटीले ३१५ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल २५९ मतसहित निर्वाचित भएका छन्।
महासचिव पदमा हरि डाँगी २७३ मत प्राप्त गरी विजयी भएका छन्। सचिवमा केदारनाथ अधिकारी २९४ मत तथा कोषाध्यक्षमा धनमाया सिन्जाली ३२३ मतसहित निर्वाचित भएका छन्।
सदस्य पदमा रमा खड्का, विवश ढुंगाना, ध्रुव जीसी, तारामणि राई, तारा तामाङ, रविन्द्र राई र भावना गजुरेललगायत उम्मेदवारहरू निर्वाचित भएका छन्।
निर्वाचनमा कुल ७३६ मत खसेको थियो। निर्वाचन प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।
नयाँ नेतृत्व चयन भएसँगै संघमा औपचारिक रूपमा नेतृत्व हस्तान्तरण भएको छ। नवनिर्वाचित कार्यसमितिले वैदेशिक रोजगार व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय सञ्चालनमा देखिएका चुनौती समाधान, सरकारसँग आवश्यक समन्वय तथा नीतिगत सुधारका विषयमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको वैदेशिक रोजगार क्षेत्र विप्रेषण भित्र्याउने प्रमुख माध्यमका रूपमा रहेको छ। पछिल्ला वर्षहरूमा देखिएका विभिन्न नीतिगत तथा व्यावसायिक चुनौतीका बीच नयाँ नेतृत्वले संघलाई थप सुदृढ र प्रभावकारी बनाउने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन्।



