NRNAप्रवासविशेष खबरसमाचार

बेलायतमा रहेका नेपालीलाई एनआरएनए यूकेको आग्रह: अफवाहमा नलाग्न र सतर्क रहन अपिल

लण्डन, जेठ २७ — गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका विभिन्न क्षेत्रमा, विशेषगरी उत्तरी आयरल्याण्डमा आप्रवासनसम्बन्धी विषयसँग जोडिएका तनाव तथा अशान्तिका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मंगलबार जारी प्रेस विज्ञप्तिमा एनआरएनए यूकेले बेलायतमा बसोबास, रोजगारी तथा व्यवसाय गरिरहेका सम्पूर्ण नेपाली समुदायलाई अत्यन्त सतर्क रहन आग्रह गरेको छ। संघले कुनै पनि अपुष्ट सूचना वा अफवाहमा विश्वास नगरी स्थानीय काउन्सिल, सुरक्षा निकाय तथा आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन अनुरोध गरेको छ।

संघले आवश्यक परेमा प्रहरी तथा सम्बन्धित नगरपालिकासँग सम्पर्क गरी सहयोग लिन पनि नेपाली समुदायलाई सुझाव दिएको छ। साथै परिवार, समुदाय, विशेषगरी विद्यार्थी तथा नवआगन्तुक नेपालीहरूलाई परिस्थितिबारे सचेत र जानकारीमूलक राख्न पनि आग्रह गरिएको छ।

एनआरएनए यूकेले शान्ति, आपसी सद्भाव, कानुनको सम्मान तथा सामाजिक जिम्मेवारीलाई प्राथमिकतामा राख्दै कुनै पनि उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबैलाई अनुरोध गरेको छ। नेपाली समुदायले सदैव एकता, संयम र पारस्परिक सहयोगको भावना कायम राख्ने विश्वाससमेत संघले व्यक्त गरेको छ।

प्रेस विज्ञप्तिमा आफू, परिवार र समुदायको सुरक्षाका लागि आवश्यक सावधानी अपनाउन पुनः आग्रह गरिएको छ।

उक्त विज्ञप्तिमा एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीको हस्ताक्षर रहेको छ। विज्ञप्ति जुन १०, २०२६ मा जारी गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button