अर्थ/ ब्यापारविशेष खबरसमाचार

हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं, जेठ २७ — सन् २०२६ को वसन्त ऋतुमा सगरमाथासहित नेपालका विभिन्न हिमाल आरोहण अभियान सफलतापूर्वक सम्पन्न भएको छ। यस अवधिमा ३१ वटा हिमाल आरोहणका लागि १,१९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि मात्र ४९५ जना आरोहीले अनुमति लिएका थिए, जसमध्ये ३९० पुरुष र १०५ महिला रहेका थिए। अनुमति लिएका आरोहीका साथै गाइड तथा सहयोगीसमेत गरी एक हजारभन्दा बढी व्यक्तिले सगरमाथाको सफल आरोहण गरेका छन्।

यस वर्ष सगरमाथा आरोहण गर्नेमध्ये सबैभन्दा धेरै चीनका १०९ जना रहेका छन्। त्यसपछि अमेरिका (७७), भारत (६१), बेलायत (३२), रुस (१८), अष्ट्रेलिया (१५), जापान (१४), क्यानडा (१२), नेपाल (१२) र आयरल्यान्ड (११) का आरोही रहेका छन्।

यसैबीच, प्रख्यात आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। त्यस्तै, लाक्पा शेर्पाले ११ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीतर्फको आफ्नै विश्व कीर्तिमानलाई थप मजबुत बनाएकी छन्।

आरोहण अनुमति वितरणबाट सरकारले उल्लेखनीय राजस्व संकलन गरेको छ। सगरमाथाबाट मात्र रु १ अर्ब ८ करोडभन्दा बढी राजस्व प्राप्त भएको छ। ल्होत्से, मकालु, आमादब्लम, कञ्चनजङ्घा र अन्नपूर्ण हिमालबाट समेत करोडौं रुपैयाँ राजस्व संकलन भएको छ।

पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहण अनुमति दिएबापत सरकारले कुल रु १ अर्ब २६ करोड ४७ लाखभन्दा बढी राजस्व संकलन गरेको छ। यो तथ्यांकले नेपाल पर्वतीय पर्यटनको आकर्षण र आर्थिक योगदान अझ सुदृढ बन्दै गएको पुष्टि गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button