प्रवासविशेष खबरसमाचार

दुबईमा भिजिट भिसा र व्यक्तिगत रोजगारी भिसाको नाममा हुने ठगीबाट सचेत रहन आग्रह

दुबई, यूएई । नेपाली महावाणिज्यदूतावास, दुबईले भिजिट भिसा तथा व्यक्तिगत रोजगारी भिसाको नाममा हुने ठगीबाट नेपाली नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

महावाणिज्यदूतावासले संस्थागत रूपमा वैधानिक तथा सुरक्षित माध्यमबाट यूएईमा रोजगारीका लागि आउने विकल्प हुँदाहुँदै केही नेपाली नागरिक असुरक्षित तरिकाले यूएई आउने र ठगीमा पर्ने घटना देखिएको जनाएको छ।

सूचनाअनुसार केही व्यक्तिले नेपालमै रहेका दलाललाई ठूलो रकम बुझाएर अन्य मुलुकको भिजिट भिसा प्रयोग गरी काठमाडौं हुँदै हवाई यात्रा गर्ने, त्यसपछि आजाज/दुबई ट्रान्जिटबाट यूएई प्रवेश गर्ने र नक्कली वा झुटा विवरणका आधारमा निकालिएको व्यक्तिगत श्रम भिसा प्रयोग गर्ने गरेको पाइएको छ। यूएई पुगेपछि सम्बन्धित कम्पनीसँग सम्पर्क हुन नसक्ने वा कम्पनीले वास्ता नगर्ने अवस्था समेत देखिएको दूतावासले जनाएको छ।

त्यस्तै, नेपालमा ठूलो रकम बुझाई यूएईको भिजिट भिसा प्राप्त गरी यूएई आएपछि काम खोज्दा पुनः दलालको फन्दामा परी ठगी तथा कानुनी झमेलामा परेका नेपाली नागरिकबाट समेत महावाणिज्यदूतावासमा गुनासो आउने गरेको सूचनामा उल्लेख छ।

महावाणिज्यदूतावासले यस्ता ठगीबाट बच्न कुनै विकल्प नभएको भन्दै रोजगारीका लागि यूएई आउन चाहने नेपाली नागरिकलाई भिजिट भिसाबाट नभई संस्थागत रोजगारी भिसाको सुरक्षित बाटो अपनाउन आग्रह गरेको छ।

साथै, स्थापित र भरपर्दो रोजगारदाता कम्पनीमा आफ्नो योग्यता र अनुभवअनुसारको काम खोज्न तथा यूएईमा रहेका परिवार वा आफन्तको पहलमा विश्वसनीय कम्पनीको रोजगारीमा व्यक्तिगत रोजगार भिसामार्फत नआउन पनि अनुरोध गरिएको छ।

नेपाली महावाणिज्यदूतावास, दुबईले २०८३ भदौ २६ (सेप्टेम्बर ११, २०२६) मा यो सूचना जारी गरेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button