अस्ट्रेलियाले भिसा नियम थप कडा गर्दै

अस्ट्रेलिया सरकारले आप्रवासन व्यवस्थालाई थप कडाइ गर्ने नयाँ योजना सार्वजनिक गरेको छ। विशेषगरी विद्यार्थीले पटक–पटक भिसा परिवर्तन गरेर अस्ट्रेलियामा लामो समय बस्ने ‘भिसा हपिङ’ प्रवृत्ति रोक्न नयाँ नियम ल्याइने भएको छ।
नयाँ व्यवस्थाअनुसार विद्यार्थीले एउटा अध्ययन पूरा गरेपछि समान वा तल्लो तहको अर्को कोर्समा गएर बसाइ लम्ब्याउने प्रक्रियामा कडाइ गरिनेछ। उदाहरणका लागि, ब्याचलरपछि मास्टर्सजस्तो उच्च तहको अध्ययनमा जान भने अनुमति रहनेछ।
त्यस्तै, अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीले अब आफ्नो विद्यार्थी भिसामा परिवारका सदस्यलाई साथमा ल्याउन नपाउने व्यवस्था गरिँदैछ। केही अपवाद भने रहनेछन्, जसमा पीएचडी विद्यार्थी तथा केही दक्षिण–पूर्वी एसिया र प्रशान्त क्षेत्रका नागरिक पर्न सक्छन्। अस्ट्रेलियामा पहिले नै परिवारसहित रहेका विद्यार्थीलाई भने परिवार छुट्याउने नियम लागू नहुने सरकारले जनाएको छ।
सरकारले भिजिटर भिसाबाट अर्को भिसामा परिवर्तन गरी बसाइ लम्ब्याउने बाटोमा पनि ‘No Further Stay’ सर्त लागू गर्ने जनाएको छ। साथै, भिसा अवधि सकिएपछि पनि अस्ट्रेलियामा बसिरहने व्यक्तिमाथि निगरानी बढाउन थप अनुपालन अधिकारी परिचालन गरिनेछ।
सरकारको योजनाले २०२७–२८ सम्म नेट ओभरसिज माइग्रेसनलाई २ लाख २५ हजारमा झार्ने लक्ष्य राखेको छ। यी परिवर्तनहरू क्रमशः आगामी १२ महिनामा लागू गरिने बताइएको छ।
नेपाली विद्यार्थीका लागि महत्वपूर्ण: अस्ट्रेलियामा अध्ययन गर्ने योजना बनाइरहेका वा हाल विद्यार्थी भिसामा रहेका व्यक्तिले कोर्स परिवर्तन, भिसा आवेदन र परिवारसम्बन्धी नयाँ नियम ध्यानपूर्वक बुझेर मात्र निर्णय गर्नु उचित हुन्छ।



