अन्तराष्ट्रिय खबरविशेष खबर

दुबई विमानस्थल केही समयका लागि बन्द, यात्रुहरू प्रभावित

काठमाडौं- यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। दुबईका अधिकारीहरूले सुरक्षा सावधानीका कारण केही समयका लागि उडानहरू स्थगित गरिएको जानकारी दिएका छन्।

यसअघि विमानस्थल नजिकै आगलागी भएको घटनापछि अवस्था नियन्त्रणमा ल्याउने प्रयास भइरहेको बताइएको थियो। दुबई मिडिया अफिसका अनुसार सोमबार भएको ड्रोन आक्रमणका कारण विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको थियो।

विश्वकै व्यस्त विमानस्थलमध्ये एक मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट हरेक वर्ष ठूलो संख्यामा यात्रुहरू आवतजावत गर्छन्। बीबीसीका अनुसार सन् २०२५ मा यहाँबाट झण्डै नौ करोड यात्रुले यात्रा गरेका थिए।

फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको तनावपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र बनेका छन्। त्यसयता खाडीका अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल तथा ड्रोन आक्रमणको सामना गरिसकेका छन्।

यी आक्रमणका लक्ष्यहरूमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डामात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत परेको बताइएको छ।

सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेको यूएईमाथि यस्ता आक्रमणको प्रभाव बढी परेको बताइए पनि खाडी क्षेत्रका अन्य मुलुकहरू पनि यसबाट प्रभावित भएका छन्। ती देशहरूले इरानको कडा आलोचना गर्दै क्षेत्रीय सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button