NRNAअर्थ/ ब्यापारविशेष खबरसमाचार

‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ मा नेपाल र स्पेनबीच व्यापार तथा लगानी सहकार्य विस्तार

म्याड्रिड, असार ९ गते । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ मा नेपाल र स्पेनबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा जोड दिइएको छ।

म्याड्रिडस्थित नेपाली दूतावासद्वारा आयोजित फोरममा दुवै देशका सरकारी अधिकारी, लगानीकर्ता तथा निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा नेपालका उत्पादन, वस्त्र उद्योग, हस्तकला तथा लगानीका सम्भावनाबारे प्रस्तुति दिइएको थियो।

कार्यवाहक राजदूत पुरक अधिकारीले नेपाल–स्पेन व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले फोरम आयोजना गरिएको बताउनुभयो। नेपाल व्यापार तथा निकासी प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवीनराज शर्माले स्पेनी बजारमा नेपाली वस्त्रजन्य उत्पादनको सम्भावना प्रस्तुत गर्नुभयो।

नेपाल निर्यात व्यवसायी महासङ्घ र नेपाल गार्मेन्ट सङ्घका प्रतिनिधिहरूले नेपाली वस्त्र, हस्तनिर्मित गहना तथा प्राकृतिक रेसाबाट बनेका उत्पादनहरूको अन्तर्राष्ट्रिय बजारमा बढ्दो मागबारे जानकारी गराएका थिए।

स्पेन उद्योग तथा वाणिज्य मण्डलका अन्तर्राष्ट्रिय सम्बन्ध उपनिर्देशक लुइस रोड्रिग्वेजले व्यवसाय–व्यवसायबीचको साझेदारी विस्तार भए नेपाल–स्पेन व्यापारिक सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।

प्रश्नोत्तर तथा नेटवर्किङ सत्रसहित सम्पन्न फोरममा स्पेनका वस्त्र तथा गहना उद्योग, लगानी प्रवर्धन निकाय, सरकारी अधिकारी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको नेपाली दूतावासले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button