अर्थ/ ब्यापारविशेष खबरसमाचार

उद्योगपति शेखर गोल्छा पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल धितोपत्र बोर्डले तयार पारेको प्रारम्भिक छानबिन प्रतिवेदनका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो।

सीआईबीका प्रमुख एआईजी डा. मनोज केसीका अनुसार, धितोपत्रसम्बन्धी ऐन २०६३ अन्तर्गतका विभिन्न प्रावधान उल्लंघन भएको आशंकामा गोल्छामाथि अनुसन्धान अघि बढाइएको छ।

बोर्डको प्रतिवेदनले बीमा कम्पनीहरूको कोष प्रयोग गरी सेयर बजारमा चलखेल गरिएको संकेत गरेको छ। आरोप अनुसार, विवादित व्यवसायी दिपक भट्टले सस्तोमा सेयर किनेर कृत्रिम रूपमा मूल्य बढाउने र त्यसपछि ती सेयर बीमा कम्पनीहरूलाई बिक्री गर्ने गतिविधि सञ्चालन गरेको देखिएको छ।

उक्त प्रकरणमा भट्टसँगै भृकुटी स्टक ब्रोकिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्दीप चाचान पनि मुख्य पात्रका रूपमा देखिएका छन्। भट्ट भने यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका छन् भने चाचान अझै पक्राउ परेका छैनन्।

अनुसन्धानमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापिटल, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्याप फन्ड लगायतका संस्था र केही व्यक्तिहरूको संलग्नता रहेको उल्लेख गरिएको छ।

त्यसैगरी, नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य कृत्रिम रूपमा बढाउने गतिविधिमा अन्य केही व्यक्ति र कम्पनीहरूको समेत भूमिका रहेको देखिएको बोर्डले जनाएको छ। सोही आधारमा थप अनुसन्धानका लागि प्रहरीलाई सिफारिस गरिएको थियो।

प्रकरणसँग सम्बन्धित अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button