NRNAप्रवासबैदेशिक रोजगारविशेष खबरसमाचार

मध्यपूर्व संकटबारे सरकार, दूतावास र NRNA बीच समन्वयात्मक छलफल सम्पन्न

काठमाडौँ — मध्यपूर्वमा विकसित भइरहेको संकटका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, उद्धार तथा संकट व्यवस्थापनबारे नेपाल सरकार, दूतावास र NRNA बीच समन्वयात्मक छलफल सम्पन्न भएको छ ।

परराष्ट्र मन्त्रालयको डायस्पोरा डिभिजनसहित सरकारी तथा गैरसरकारी गरी ४० भन्दा बढी संस्थाका प्रतिनिधिहरू सहभागी रहेको उक्त बैठक NRNA र ILO को संयुक्त परियोजना “MiRiDeW Phase II” अन्तर्गत आयोजना गरिएको हो ।

बैठकमा नेपाल सरकार, दूतावास र NRNA बीचको समन्वय संयन्त्रलाई अझ प्रभावकारी बनाउनुपर्ने, आपतकालीन उद्धार योजना तत्काल कार्यान्वयन गर्नुपर्ने तथा नेपाली श्रमिकहरूको अद्यावधिक तथ्यांक प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने सुझाव प्रस्तुत गरिएको थियो ।

त्यसैगरी मानसिक तनावमा रहेका श्रमिकहरूका लागि मनोसामाजिक परामर्श सेवा विस्तार, प्रस्थानपूर्व तालिममा जोखिम व्यवस्थापन समावेश तथा वैदेशिक रोजगारसम्बन्धी ठगी रोक्न जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

बैदेशिक रोजगार विभाग प्रमुख खगेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काले सरकारले गरिरहेको कामबारे जानकारी गराउनुभएको थियो । कतार, यूएई, साउदी अरब, कुवेत, ओमान र बहराइनस्थित NRNA प्रतिनिधिहरूले पनि आफ्ना धारणा राखेका थिए ।

NRNA अध्यक्ष डा. हेमराज शर्माले सरकार, दूतावास र सरोकारवालाबीच उच्चस्तरीय समन्वय आवश्यक रहेको उल्लेख गर्दै आपतकालीन संयन्त्र तत्काल निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले उद्धार, सुरक्षित स्थानान्तरण र राहत व्यवस्थापनमा NRNA सरकारसँग सहकार्य गर्न तयार रहेको धारणा राख्नुभयो ।

बैठकमा प्रवक्ता सोम सापकोटा, पूर्वअध्यक्ष डा. बद्री केसी, महिला संयोजक रश्मि थापालगायतले मध्यपूर्वको संकटले नेपाली श्रमिकहरूको रोजगारी, सुरक्षा र मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै दीर्घकालीन नीतिगत व्यवस्था आवश्यक रहेको बताएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button