मध्यपूर्व संकटमा कतार एयरवेजले दोहा–काठमाडौं–दोहो उडान सुनिश्चित

काठमाडौं – मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भइरहेका बेला कतार एयरवेजले दोहा–काठमाडौं–दोहो उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।
एयरलाइनको तालिकाअनुसार १६ र १७ मार्च (चैत २ र ३) दोहा–काठमाडौं र १७ र १८ मार्च (चैत ३ र ४) काठमाडौं–दोहो उडान हुनेछन् । यसबाट नेपालबाट कतार जाने र दोहा ट्रान्जिट हुँदै अन्य गन्तव्यमा यात्रा गर्ने यात्रुहरूले सुविधा लिन सक्नेछन् ।
कतार एयरवेजले काठमाडौंसँगै नयाँदिल्ली, मुम्बई, ढाका, बैंकक, इस्तानबुल, लन्डन र पेरिस लगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा पनि विशेष उडान सञ्चालन गर्दैछ ।
हाल मध्यपूर्व तनाव बढेसँगै केही देशहरूले हवाई मार्गमा सतर्कता अपनाइरहेका छन् र कतिपय उडान रद्द वा मार्ग परिवर्तन गरिएको छ । त्यसबीच दोहा–काठमाडौं हवाई सम्पर्क कायम रहनुले यात्रुहरूका लागि राहत भएको छ ।
दोहा विश्वकै प्रमुख ट्रान्जिट हब भएकोले नेपाल आउने तथा बाहिरिने यात्रुका लागि यो मार्ग महत्वपूर्ण छ । वैदेशिक रोजगारीमा गएका नेपाली, नेपाल फर्कने यात्रु र विदेश जाने विद्यार्थीले यस मार्ग प्रयोग गर्ने गरेका छन् ।
एयरलाइनले यात्रुहरूलाई आफ्ना आधिकारिक वेबसाइट, मोबाइल एप वा ट्राभल एजेन्सीमार्फत उडानको अद्यावधिक जानकारी लिन आग्रह गरेको छ । सुरक्षा परिस्थितिमा परिवर्तन भएमा तालिकामा परिवर्तन हुनसक्ने भएकाले यात्रा अघि जानकारी लिन सुझाव दिइएको छ ।



