
काठमाडौं – काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडिओ) छवि रिजाललाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । उनलाई काठमाडौंको सुविधानगर क्षेत्रबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।
रिजाल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला काठमाडौंका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका थिए । सो आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले उनलाई दोषी ठहर गर्दै कानुनी कारबाहीका लागि सिफारिस गरेको थियो ।
आयोगले आफ्नो प्रतिवेदनमा आन्दोलन व्यवस्थापनका क्रममा लापरवाही भएको निष्कर्ष निकालेको र त्यसका लागि तत्कालीन प्रशासनिक नेतृत्व जिम्मेवार रहेको उल्लेख गरेको छ । सोही आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्दै सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान अगाडि बढाउने प्रक्रिया अघि बढाइएको थियो ।
यसअघि सोही प्रकरणमा संलग्न रहेको आरोपमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गरिसकिएको छ । प्रहरी स्रोतका अनुसार रिजालमाथि थप अनुसन्धान भइरहेको छ र आवश्यक प्रमाण संकलनपछि मुद्दा दर्ता गर्ने तयारी भइरहेको जनाइएको छ ।



