
क्यानबेरा (अष्ट्रेलिया)- अष्ट्रेलियास्थित नेपाली दूतावास, क्यानबेराले पश्चिमी अष्ट्रेलियाको पर्थमा सञ्चालन गरेको घुम्ती राहदानी सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
दूतावासले एनआरएनए–डब्लुए (NRNA-WA) सँगको समन्वयमा गत अप्रिल ३० देखि मे ४ तारिखसम्म उक्त सेवा शिविर सञ्चालन गरेको हो।
दूतावासद्वारा जारी प्रेस विज्ञप्तिअनुसार शिविरमार्फत पश्चिमी अष्ट्रेलिया तथा आसपासका क्षेत्रमा बसोबास गर्ने ५५८ जना नेपाली नागरिक राहदानी नवीकरण सेवाबाट लाभान्वित भएका छन्।
दूतावासले शिविर सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने नेपाली समुदायका संस्था, स्वयंसेवक तथा सम्पूर्ण व्यक्तिप्रति हार्दिक आभार व्यक्त गरेको छ।
विदेशमा रहेका नेपालीलाई सहज रूपमा कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले नेपाली दूतावासले विभिन्न क्षेत्रमा यस्ता घुम्ती सेवा शिविर सञ्चालन गर्दै आएको जनाएको छ।



