प्रवासविशेष खबरसमाचार

नेपाल–थाइल्यान्ड सम्बन्ध थप सुदृढ बनाउने विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ, १ जेठ- थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओली र थाइल्यान्डको परराष्ट्र मन्त्रालयअन्तर्गत दक्षिण एशिया, मध्यपूर्व तथा अफ्रिका मामिला विभागकी महानिर्देशक उरासा मोङकोलनाभिनबीच बिहीबार बैंककमा भेटवार्ता भएको छ ।

भेटमा नेपाल र थाइल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ । दुवै पक्षले व्यापार, लगानी, पर्यटन, कृषि, शिक्षा तथा सांस्कृतिक क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा जोड दिएका छन् ।

यसक्रममा गत वर्ष सम्पन्न विभिन्न समझदारीको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै ती सहमतिलाई प्रभावकारी रूपमा अघि बढाउने सहमति भएको छ । साथै कृषि सहयोग तथा कानुनी सहकार्यसम्बन्धी प्रस्तावित सम्झौताहरूलाई छिट्टै निष्कर्षमा पुर्‍याउने विषयमा पनि छलफल भएको बताइएको छ ।

दुवै पक्षले ‘भिसा’ प्रक्रिया सहज बनाउने, पर्यटन प्रवर्द्धन गर्ने तथा मानव बेचबिखन, साइबर अपराध र सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आपसी सहकार्यलाई थप विस्तार गर्ने र एकअर्काको उम्मेदवारीलाई समर्थन गर्ने विषयमा समेत सकारात्मक छलफल भएको दूतावासले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button