विश्वकप लिग–२ : आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा

काठमाडौं, जेठ २ – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी त्रिदेशीय शृङ्खलामा हालसम्म भएका दुवै खेलमा स्कटल्याण्ड विजयी बनेको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ–लुइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने दोस्रो खेलमा अमेरिकालाई पनि समान दुई रनले हराएको थियो ।
विश्वकप लिग–२ को अंक तालिकामा नेपाल हाल आठौँ स्थानमा रहेको छ । नेपालले २५ खेलमध्ये ८ मा जित, १५ मा हार तथा २ खेलमा नतिजाविहीन हुँदै १८ अंक जोडेको छ । एकदिवसीय मान्यता कायम राख्न नेपाल शीर्ष ६ भित्र रहनुपर्ने दबाबमा छ भने विश्वकप ग्लोबल क्वालिफायरको सम्भावना जीवित राख्न बाँकी खेलहरू जित्नुपर्ने अवस्था रहेको छ ।
अमेरिका भने २५ खेलबाट १८ जितसहित ३६ अंक जोडेर दोस्रो स्थानमा छ । स्कटल्याण्ड ३० खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ ।



