डायस्पोराको योगदान नेपाल निर्माणमा महत्त्वपूर्ण : पूर्व अध्यक्ष विपुल पोखरेल
ड्यालस (अमेरिका), जेठ १८ – नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विपुल पोखरेलले नेपाल निर्माणको वैचारिक अभियानमा विदेशमा रहेका नेपालीहरूको योगदान महत्त्वपूर्ण रूपमा स्थापित भइसकेको बताउनुभएको छ।
अमेरिकाको ड्यालसमा हिमालय खबर ड्यालस र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ड्यालसको संयुक्त आयोजनामा सम्पन्न ‘नेपाल चर्चा, कविता र पुस्तक समीक्षा’ कार्यक्रममा बोल्दै पोखरेलले डायस्पोरामा रहेका नेपालीहरूको ज्ञान, अनुभव, पूँजी तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई देश विकासमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले नेपाललाई समेटेर अघि बढ्न सक्ने दूरदर्शी र सक्षम नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै देश निर्माणमा सबै क्षेत्रको सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।
राजनीतिक स्थायित्व र लोकतन्त्रप्रति चिन्ता व्यक्त गर्दै पोखरेलले विगतका राजनीतिक घटनाक्रम स्मरण गराउनुभयो। “विगतमा प्रधानमन्त्री स्वयंले संसद् विघटन गरेर अस्थिरता निम्त्याउने प्रयास गरेको इतिहास छ, र अहिलेका प्रधानमन्त्रीले पनि त्यही प्रवृत्ति दोहोरिन सक्ने खतरा उत्तिकै छ,” उहाँले भन्नुभयो।
विश्वभर लोकतान्त्रिक मूल्य र मान्यतामाथि चुनौती बढिरहेको सन्दर्भ उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा विदेशमा रहेका नेपालीहरूले पनि लोकतन्त्रको संरक्षण र सुदृढीकरणमा थप सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
समसामयिक विषयमा प्यानल छलफल
कार्यक्रममा वरिष्ठ पत्रकार सुधीर शर्मा र बसन्त बस्नेतबीच नेपालको वर्तमान राजनीतिक तथा सामाजिक अवस्थाबारे केन्द्रित प्यानल छलफल समेत आयोजना गरिएको थियो। छलफलमा नेपालको समसामयिक परिस्थिति, राजनीतिक दिशा तथा भावी सम्भावनाका विषयमा गहन विचार–विमर्श गरिएको थियो।
यसैगरी, साहित्यकार नारायण श्रेष्ठले एकल कविता वाचन गर्नुभएको थियो भने लेखक केशव दाहालको नवीनतम कृति ‘अज्ञात’ माथि समीक्षा तथा विशेष चर्चा गरिएको थियो।
डायस्पोरामा रहेका नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रम वैचारिक तथा साहित्यिक दृष्टिले सफल र प्रभावकारी बनेको आयोजक संस्था हिमालय खबरका प्रबन्ध सम्पादक विकासराज न्यौपानेले जानकारी दिनुभयो।



