विशेष खबरसमाचार

परराष्ट्र मन्त्रालयको जिम्मा शिशिर खनाललाई दिइयो

काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद शिशिर खनाललाई प्रधानमन्त्री बालेन शाहले परराष्ट्रमन्त्री नियुक्त गरेका छन् ।

खनालले राजनीति र शिक्षा क्षेत्रमा लामो अनुभव बटुलेका छन् । काठमाडौंको गोंगबु घर भएका उनी सिद्धार्थ वनस्थलीबाट एसएलसी पास गरेपछि त्रिचन्द्र कलेजबाट आइएसी अध्ययन गरे । त्यसपछि अमेरिकाको बृजपोर्ट विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा स्नातक गरे ।

अमेरिकाकै युनिभर्सिटी अफ विस्कन्सिनबाट सार्वजनिक नीतिशास्त्रमा स्नातकोत्तर पूरा गरेर नेपाल फर्केका खनालले सर्वोदय अभियानमा काम गर्न थाले । सन् २०१२ मा उनले ‘टिच फर नेपाल’ स्थापना गरे । यो संस्था दुर्गम गाउँका सामुदायिक विद्यालयमा स्वयंसेवी शिक्षक पठाउने र शिक्षकलाई तालिम दिने काम गर्दै आएको छ ।

विदेशमा अध्ययनका क्रममा खनाल अन्तर्राष्ट्रिय विद्यार्थी संघको कलेज सिनेटर पनि भएका थिए । उनले कनेक्टिकट राज्यसभा (प्रदेश संसद) का सिनेटरसँग काम गर्दै निर्वाचन क्षेत्रका नीति तथा मुद्दा तय गर्ने अनुभव हासिल गरेका थिए ।

नेपाल फर्केपछि उनी शिक्षाक्षेत्रमा सक्रिय भए । २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको घोषणापत्र तयार गर्ने कार्यदलमा पनि उनी सहभागी थिए । त्यही वर्ष काठमाडौं-६ बाट संसदीय चुनाव लडेका खनालले पहिलो प्रयासमै आफ्ना प्रतिस्पर्धीसँग फराकिलो मतान्तरले विजय हासिल गरे ।

त्यो समय उनका पार्टी रास्वपा २१ सिट जितेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भयो । उपप्रधान तथा गृहमन्त्री बनेका रवि लामिछाने नेतृत्वमा शिक्षा सुधारमा काम गरेको अनुभव भएका खनाल शिक्षामन्त्री नियुक्त भएका थिए ।

संसदमा तीनवर्षे कार्यकालमा खनाल अन्तर्राष्ट्रिय समितिका सदस्यका रूपमा काम गरे । उनले शून्य समयमा उठेका सामाजिक र राजनीतिक मुद्दामा प्रश्न सोध्ने सांसदको रूपमा ख्याति कमाए । यसैगरी, सभापति रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लाग्दा त्यसको छानबिन गर्न बनेको समितिमा पनि उनी सक्रिय थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button