अन्तराष्ट्रिय खबरविशेष खबरसमाचार

अमेरिका–इरान तनाव चुलिँदै, युद्धविराम अन्त्यतिर

तेहरान, वैशाख ८ — अमेरिका र इरानबीच जारी युद्धविरामको समयसीमा सकिन लागेसँगै दुवै देशबीचको तनाव पुनः चुलिएको छ। वार्ताको भविष्य अनिश्चित बन्दै जाँदा दुवै पक्षले आवश्यक परे युद्धका लागि तयार रहेको संकेत दिएका छन्।

अमेरिकी पक्षले वार्तालाई अघि बढाउन पुनः पहल गर्ने तयारी गरेको छ। ह्वाइट हाउसका अनुसार उपराष्ट्रपति जेडी भान्स इस्लामाबादमा दोस्रो चरणको वार्ता गर्न जान सक्ने बताइएको छ। तर इरानले अमेरिकी गतिविधिप्रति असन्तुष्टि जनाउँदै वार्तामा सहभागी हुनेबारे कुनै स्पष्ट धारणा सार्वजनिक गरेको छैन।

तेहरानले अमेरिकामाथि आफ्ना बन्दरगाहमा नाकाबन्दी लगाएको र एक जहाज नियन्त्रणमा लिएर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ। इरानी संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले दबाबको वातावरणमा वार्ता स्वीकार्य नहुने स्पष्ट पार्दै नयाँ रणनीति अपनाउने संकेत दिएका छन्।

यसैबीच, इरानको रिभोलुसनरी गार्ड्सले होर्मुज जलडमरूमध्य क्षेत्रमा कडाइ गर्ने चेतावनी दिएको छ। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले नै जहाज आवतजावतमा अवरोध गरेर स्थिति जटिल बनाएको आरोप लगाएका छन्।

ट्रम्पले युद्धविराम समाप्त भए ठूलो स्तरमा आक्रमण हुनसक्ने चेतावनी दिँदै इरान वार्तामा आउनुपर्ने बताएका छन्। तर हालको परिस्थितिमा युद्धविराम थपिने सम्भावना न्यून देखिएको छ।

तनाव बढे पनि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य भने घट्दो क्रममा रहेको छ। विश्लेषकहरूका अनुसार होर्मुज जलडमरूमध्य पुनः सञ्चालन हुने आशाले बजार प्रभावित भएको हो।

तेहरानमा केही हदसम्म सामान्य जीवन फर्किएको देखिए पनि सर्वसाधारणमा अझै अन्योल र आर्थिक दबाब कायम रहेको छ।

यसैबीच, इजरायल र लेबनानबीच छुट्टै युद्धविराम घोषणा गरिएको छ। तर दक्षिणी लेबनानमा अझै छिटपुट हिंसा जारी रहेको छ।

अमेरिका–इरान वार्ताको अर्को महत्वपूर्ण विषय इरानको युरेनियम भण्डार पनि बनेको छ। अमेरिकाले उक्त भण्डार हस्तान्तरणबारे दाबी गरे पनि इरानले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button