प्रवासबैदेशिक रोजगारविशेष खबरसमाचार

साउदी जाने नेपाली श्रमिकका लागि सिप प्रमाणीकरण अनिवार्य, जुलाईदेखि कार्यान्वयन हुने

 

काठमाडौं, असार ८ — साउदी अरब सरकारले नेपाली श्रमिकका लागि लागू गर्न लागेको सिप प्रमाणीकरण कार्यक्रम (Skill Verification Program – SVP) आगामी जुलाई १ देखि अनिवार्य रूपमा कार्यान्वयन हुने भएको छ। नेपालस्थित साउदी दूतावासले यो कार्यक्रम साउदी सरकारको आधिकारिक नीति भएकाले स्थगित नहुने स्पष्ट पारेको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका प्रतिनिधिहरूसँग भएको छलफलमा साउदी राजदूत फहद मोनाइकिर ले साउदीमा रोजगारीका लागि जाने श्रमिकले आफ्नो सीप प्रमाणित गर्नुपर्ने व्यवस्था लागू हुने जानकारी दिनुभएको हो।

दूतावासका अनुसार सिप प्रमाणीकरणका लागि ५० अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ। कार्यक्रम काठमाडौंसँगै लुम्बिनी, जनकपुर, नारायणघाट र महोत्तरीबाट पनि सञ्चालन गर्ने तयारी गरिएको छ।

यद्यपि, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले भने यस व्यवस्थाप्रति असन्तुष्टि जनाएको छ। सङ्घका अध्यक्ष डिकबहादुर खत्री ले सिप प्रमाणीकरणको नाममा श्रमिकमाथि अतिरिक्त आर्थिक भार थपिने र वैदेशिक रोजगारी क्षेत्रमा नयाँ प्रकारको सिन्डिकेट सिर्जना हुने चिन्ता व्यक्त गर्नुभयो।

उहाँले नेपालमै सिटिइभिटीजस्ता सरकारी निकायमार्फत सिप परीक्षणको व्यवस्था हुँदाहुँदै निजी कम्पनीलाई जिम्मेवारी दिनु उचित नहुने धारणा राख्नुभयो। साथै, हाल सञ्चालनमा रहेको बायोमेट्रिक सेवा प्रणालीमा देखिएका समस्या दोहोरिन सक्ने भन्दै पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

वैदेशिक रोजगार व्यवसायीहरूले यो कार्यक्रम दुई देशबीच भएको श्रम सम्झौता र अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुसार हुनुपर्ने माग गर्दै सरकारलाई आवश्यक अध्ययन गरी श्रमिकको हितलाई केन्द्रमा राखेर निर्णय लिन आग्रह गरेका छन्। यस सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम मन्त्रालय र साउदी दूतावासलाई औपचारिक पत्रसमेत पठाइएको जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button