NRNAअर्थ/ ब्यापारविशेष खबरसमाचार

नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह

काठमाडौँ – रामचन्द्र पौडेल ले नेपालमा रहेको लगानीको अपार सम्भावनाको उपयोग गर्न र विदेशमा बसोबास गरिरहेका नेपालीहरूले आफू रहेका देशका लगानीकर्तालाई समेत नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह गर्नुभएको छ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा गैर आवासीय नेपाली संघ का नवनिर्वाचित पदाधिकारीहरूसँग भएको भेटमा राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

उहाँले नेपालको आन्तरिक क्षमता अभिवृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा रहेका नेपालीहरूको प्रतिष्ठा समेत उँचो हुने उल्लेख गर्दै नेपाल समृद्ध नभएसम्म नेपालीहरूको अन्तर्राष्ट्रिय छवि बलियो नहुने बताउनुभयो। सुशासन, विकास र समृद्धितर्फ मुलुकलाई अघि बढाउन गैरआवासीय नेपालीहरूको अझ प्रभावकारी भूमिका आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।

राष्ट्रपति पौडेलका अनुसार नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, सूचना तथा सञ्चार, शिक्षा तथा स्वास्थ्यलगायत क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको छ। साथै, भारत र चीनजस्ता विशाल बजार नजिकै हुनु नेपालका लागि थप अवसर भएको उल्लेख गर्दै उहाँले औद्योगिकीकरण, आन्तरिक उत्पादन वृद्धि र पूर्वाधार विकासमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।

“बहुपक्षीय साझेदारी आजको आवश्यकता हो,” उहाँले भन्नुभयो, “विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको पूँजी, ज्ञान, सीप, अनुभव र उद्यमशीलता नेपालको विकासमा उपयोगी सावित हुन सक्छ।”

उहाँले विगतमा गैरआवासीय नेपालीहरूले गरेका लगानीले नेपालको विकासमा महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो।

राष्ट्रपति पौडेलले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले मुलुकलाई जटिल अवस्थाबाट निकास दिएको उल्लेख गर्दै जनताले सुशासनमार्फत सामाजिक न्यायसहितको विकास र समृद्धिका लागि मत दिएको बताउनुभयो।

संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्य, मान्यता र सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात नगरेसम्म अपेक्षित समृद्धि हासिल गर्न कठिन हुने उहाँको भनाइ थियो। “अब हामी सबैले ती मूल्य र मान्यतालाई व्यवहारमा लागू गर्दै अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।

उहाँले आदिकवि भानुभक्त आचार्य को जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गुरुयोजना अघि बढाइएको जानकारी दिँदै त्यसमा गैरआवासीय नेपाली संघको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मा ले संस्थाका गतिविधि तथा भावी योजनाबारे जानकारी गराउनुभएको थियो। साथै, नेपालमा भइरहेको लगानी, थप सम्भावना र दोस्रो पुस्तालाई संस्थासँग जोड्ने रणनीतिबारे पनि उहाँले प्रकाश पार्नुभएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button