बैदेशिक रोजगारविशेष खबरसमाचार
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विमानस्थलमा थप कागजात अनिवार्य

काठमाडौं, २४ चैत – वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि विमानस्थल (अध्यागमन) मा थप कागजात अनिवार्य गरिएको छ ।वैदेशिक रोजगार विभागले २०८२ चैत २९ गतेदेखि लागू हुने गरी नयाँ व्यवस्था गरेको हो । अब विदेश जान लागेका सबै श्रमिकले विमानस्थल पुग्दा केही अतिरिक्त कागजात देखाउनुपर्ने भएको छ ।
विभागका अनुसार, श्रमिकले गन्तव्य देशसम्मको हवाई टिकट र सो टिकटको बिल वा रसिद (व्यक्तिगत वा संस्थागत जुनसुकै भए पनि) अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ । साथै, म्यानपावर कम्पनीमार्फत जाने श्रमिकले सो कम्पनीलाई बुझाएको सेवा शुल्कको आधिकारिक रसिद पनि देखाउनुपर्ने छ ।
विभागले सबै इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई सेवा शुल्क लिँदा श्रमिकलाई भौचर वा रसिद अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ ।विभागले श्रमिकहरूलाई आग्रह गर्दै भनेको छ– “तोकेका सबै कागजात पूरा गरेर मात्र विमानस्थल जानुहोस् । कागजात अपुग भए यात्रामा समस्या हुन सक्छ ।”



