ओदिमिरा (पोर्चुगल) मा राहदानी नवीकरण घुम्ती शिविर सम्पन्न, १७६ नेपाली लाभान्वित

लिस्बन (पोर्चुगल), २२ वैशाख — पोर्चुगलको ओदिमिरास्थित जम्बुजिरामा सञ्चालन गरिएको राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
लिस्बनस्थित नेपाली दूतावासद्वारा सञ्चालित उक्त घुम्ती शिविरबाट सो क्षेत्रका १७६ जना नेपाली सेवाग्राही लाभान्वित भएका छन्।
शिविरमार्फत ११४ जना नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहित आवेदन सङ्कलन गरिएको दूतावासले जनाएको छ। तीमध्ये १०८ जनाको नवीकरण, २ जनाको हराएको राहदानी, तथा ४ जना बालबालिकाका लागि नयाँ राहदानी आवेदन प्राप्त भएको जनाइएको छ।
त्यसैगरी, शिविरमा १६ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) र ३६ जनाको विभिन्न कागजात प्रमाणीकरण गरिएको थियो। साथै, १० जनालाई तयार राहदानी वितरण गरिएको थियो।
दूतावासका प्रथम सचिव रामबाबु नेपालका अनुसार शिविरबाट राहदानी आवेदन, वितरण तथा अन्य कन्सुलर सेवा गरी कुल १७६ नेपालीले सेवा लिएका छन्। यस क्रममा १६ हजार ९६० युरो (करिब ३० लाख रुपैयाँ) राजस्व सङ्कलन भएको पनि उहाँले जानकारी दिनुभयो।
दूतावासका अनुसार राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणका लागि टाढाबाट लिस्बन धाउन नपरोस् भन्ने उद्देश्यले नेपालीहरूको सहजताका लागि सोही स्थानमा घुम्ती शिविर सञ्चालन गरिएको हो।
शिविरमा म्याद सकिएका वा सकिन लागेको, क्षति भएका, हराएका राहदानी तथा बालबालिकाका लागि विद्युतीय राहदानी आवेदन सङ्कलन गरिएको थियो। साथै, तयार राहदानी वितरण, प्रहरी रिपोर्ट र अन्य कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रदान गरिएको थियो।
यसअघि पनि दूतावासले पोर्चुगलका फारो, मदेइरा र पोर्तो क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्दै त्यहाँ रहेका नेपालीलाई सेवा प्रदान गरिसकेको छ।



