
युरोपभर रहेका नेपाली कलाकारहरूको साझा संस्था International Nepali Artists Society (INAS) द्वारा आयोजित ११औं INAS EU Regional Program 2026 सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न देशबाट सहभागी कलाकारहरूले आफ्नो अद्वितीय कला प्रस्तुत गर्दै दर्शकहरूको मन जितेका थिए।

कार्यक्रम अन्तर्गत आयोजित ८औं एकल गायन प्रतियोगिता (Solo Singing Competition) मा फ्रान्सका कुमार रणपहेली उत्कृष्ट प्रदर्शन गर्दै विजेता घोषित भए। जर्मनीका आशिष नेपाली पहिलो रनरअप, पोल्याण्डका रञ्जीव एम. दास दोस्रो रनरअप तथा अष्ट्रियाका सुजन मोक्तान तेस्रो रनरअप बने।
त्यसैगरी, ११औं एकल नृत्य प्रतियोगिता (Solo Dancing Competition) मा फ्रान्सकी दीप तमाङ उत्कृष्ट नृत्य प्रस्तुत गर्दै विजेता बन्न सफल भइन्। बेल्जियमकी प्रिन्सी खनाल पहिलो रनरअप, बेल्जियमकै दृश्य शर्मा दोस्रो रनरअप तथा जर्मनीका ट्रिस्टाचन केडी तेस्रो रनरअप घोषित भए।

आयोजकका अनुसार यस कार्यक्रमले युरोपमा रहेका नेपाली कलाकारहरूको प्रतिभा, सांस्कृतिक पहिचान र सिर्जनशीलतालाई अझ सशक्त रूपमा प्रस्तुत गरेको छ। साथै, नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुगेको विश्वास गरिएको छ।
प्रतियोगितामा सहभागी सम्पूर्ण कलाकारहरूलाई आयोजकले बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट सिर्जनात्मक यात्राको शुभकामना व्यक्त गरेको छ।

📌 आगामी कार्यक्रम:
आयोजकले जानकारी दिएअनुसार १२औं एकल नृत्य प्रतियोगिता तथा ९औं एकल गायन प्रतियोगिता सन् २०२७ मा यूकेमा आयोजना गरिनेछ।



