
काठमाडौँ, वैशाख ३१ गते । परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा मन्त्री खनालले प्रभावकारी कार्यसम्पादन, शीघ्र सेवा प्रवाह तथा समस्या समाधानमा सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले समस्या समाधानमा तत्परताका साथ काम गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिँदै मन्त्रालयको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा आर्थिक वर्ष २०८२/८३ को हालसम्मको कार्यसम्पादनको समीक्षा तथा मूल्याङ्कन गरिएको थियो । साथै मन्त्रालयगत कार्यान्वयन प्रक्रियामा देखिएका अवरोध, चुनौती तथा तिनको समाधानका उपायबारे विस्तृत छलफल भएको थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, मन्त्रालयका उच्च अधिकारीहरू तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।



