स्पेनमा हुँदै “दोस्रो एनआरएनए म्याड्रिड भलिबल कप २०२६”, विजेतालाई १,६५० युरो पुरस्कार

म्याड्रिड – स्पेनमा रहेका नेपाली समुदायबीच एकता, भाईचारा र नेपाली पहिचानलाई अझ मजबुत बनाउने उद्देश्यसहित “दोस्रो एनआरएनए म्याड्रिड भलिबल कप २०२६” आयोजना हुने भएको छ।
एनआरएनए म्याड्रिडको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी १८ मे २०२६ सोमबार दिउँसो १२ बजे Calle de la Alianza 4, Viaverde, Madrid मा सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा स्पेनभर रहेका नेपाली संघसंस्था, क्लब तथा समुदायका टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रतियोगिता अन्तर्राष्ट्रिय नियमअनुसार Knockout System मा सञ्चालन हुनेछ। सहभागी खेलाडी स्पेनमा बसोबास गर्ने नेपाली नागरिक हुनुपर्नेछ भने आवश्यक परे नेपाली पासपोर्ट तथा Empadronamiento (Padrón) पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
आयोजकका अनुसार प्रत्येक टोलीमा अधिकारीसहित अधिकतम ११ सदस्य रहनेछन् र सबै खेलाडीले आफ्नो क्लब वा संस्थाको आधिकारिक जर्सी अनिवार्य लगाउनुपर्नेछ। खेल अवधिभर मदिरा सेवन, धूम्रपान तथा व्यक्तिगत संगीत उपकरण प्रयोग निषेध गरिएको छ।
प्रतियोगिताको विजेता टोलीले १,६५० युरो नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १,१५० युरोसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधामा विशेष अवार्ड प्रदान गरिनेछ।
टोली दर्ताको अन्तिम समय १७ मे २०२६ दिउँसो ४ बजेसम्म तोकिएको छ भने टाइ सिट सोही दिन साँझ ५ बजे सार्वजनिक गरिने आयोजकले जनाएको छ। दर्ता शुल्क २६० युरो निर्धारण गरिएको छ।
आयोजक टोलीले स्पेनमा रहेका सम्पूर्ण नेपाली समुदाय, संघसंस्था तथा क्लबहरूलाई प्रतियोगितामा सहभागी भई खेलमार्फत नेपाली एकताको सन्देश फैलाउन आग्रह गरेका छन्।



